अभाव झेल्दै कर्णालीको 'गौरव'

४६ वर्षअघि कर्णालीलगायत दुर्गम क्षेत्रलाई सीपयुक्त जनशक्तिले आत्मनिर्भर बनाउने सपनाबाट जन्मिएको कर्णाली प्राविधिक शिक्षालय आर्थिक अभाव झेलिरहेको छ ।

जेष्ठ २६, २०८३

रञ्जना बिसी

Karnali's 'glory' facing shortage

What you should know

जुम्ला — २०३७ सालताका जुम्लाभर जम्मा आधा दर्जन माध्यमिक विद्यालय थिए । सडक थिएन, सञ्चारका साधन एकाध थिए र उच्च शिक्षाको अवसर टाढाको विषय थियो । त्यही बेला, कर्णालीका युवालाई गाउँमै सीपमूलक शिक्षा दिने लक्ष्यसहित जुम्लामा स्थापना भयो कर्णाली प्राविधिक शिक्षालय (केटीएस) ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना हुनुभन्दा आठ वर्षअघि नै यो संस्था सञ्चालनमा आइसकेको थियो । जुम्लाको खलंगा बजारबाट करिब तीन किलोमिटर उत्तरतर्फ, घुघुतीको शान्त डाँडामा फैलिएको छ केटीएस । वरिपरी सल्लाघारी, छेउमै बग्ने खोला । पुराना, आकर्षक चुन र ढुंगाले बनेका भवनहरू । झट्ट हेर्दा यो कुनै ‘तारे होटल’ भन्दा कम छैन ।

६ सय ५२ रोपनीमा फैलिएको शिक्षालय देख्दा जति आकर्षक छ, यसको इतिहास पनि त्यति नै गौरवमय छ । नेपालमा प्राविधिक शिक्षाको जग बसाउने पहिलो हो कर्णाली प्राविधिक शिक्षालय । करिब ४६ वर्षअघि दुर्गम क्षेत्रलाई सीपयुक्त जनशक्तिमा आत्मनिर्भर बनाउने सपनाबाट यो शिक्षालय जन्मिएको थियो ।

कर्णालीकै गौरव भनेर चिनिएको यही शिक्षालय अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ । २०३० को दशकमा बनेका धेरै भवन जीर्ण बन्दै गएका छन् । बाढीले बगाएको शिक्षालयको आफ्नै लघु जलविद्युत् पुन: सञ्चालन हुन सकेको छैन । मर्मत गर्न झन्डै २० लाख रुपैयाँ आवश्यक भए पनि जोहो गर्न नसकिएको शिक्षालय प्रमुख विकल अधिकारीले बताए । शिक्षालयमा घेराबाराको पनि अभाव छ । समयानुकूलका उपकरण, छात्रावासको व्यवस्थापन र थप शैक्षिक भवन पनि आवश्यक रहेको उनले बताए । यी सबै अभाव पूरा गर्न शिक्षालयसँग आवश्यक स्रोत नभएको शिक्षालय प्रशासनको भनाइ छ । दुर्गम भूगोलका कारण सञ्चालन खर्च बढी भएकाले कतिपय काम बजेट अभावले रोकिएको शिक्षालय प्रमुख अधिकारीको गुनासो छ । ‘संघीय सरकार मातहतको भन्दै स्थानीय र प्रदेश सरकार पनि अपनत्व लिन पन्छिन्छन्,’ उनले भने ।

Karnali's 'glory' facing shortage

चार वर्षअघिसम्म शिक्षालय आफ्नै विद्युत् आत्मनिर्भर थियो । तर २०७९ सालको बाढीमा शिक्षालयको लघु जलविद्युत् बगाएपछि त्यसयता सञ्चालनमा आएको छैन । पहिले यही आयोजनाबाट शिक्षालयमा विद्युत् आपूर्ति हुन्थ्यो । कृषिदेखि ल्याबका उपकरण यसैबाट सञ्चालन हुन्थे । अहिले शिक्षालयमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । तर लोडसेडिङका कारण शैक्षिक गतिविधिमा अवरोध र विद्युत् महसुलको भार परेको छ ।

शिक्षालय प्रशासनका अनुसार लघु जलविद्युत् मर्मत गर्न २० देखि ३० लाख बजेट आवश्यक छ । संघ, प्रदेश र स्थानीय सरकारसँग पटक–पटक मर्मतका लागि बजेट माग गर्दा पनि सुनुवाइ नभएको शिक्षालयको भनाइ छ । साथै पुराना भवनको मर्मत, कमजोर इन्टरनेट सेवा तथा दुर्गम भूगोलका कारण बढ्दो सञ्चालन खर्च शिक्षालयका मुख्य चुनौती बनेका छन् । पुराना भवनहरू मर्मत नहुँदा चुहिने, छानाहरू बिस्तारै भत्किँदै गएको र पर्खाल कमजोर बन्दै गएका छन् । यसले गर्दा भूकम्पको उच्च जोखिम र वर्षात्को समयमा चुनौती हुने गरेको छ । यसबारे चन्दननाथ नगरपालिकाका उपप्रमुख रमादेवी कठायतले संघीय सरकार मातहतको शिक्षालय भएकाले बजेट नछुट्याउने गरेको बताइन् ।

शिक्षालय कर्णालीका लागि बरदान हो । यहाँको प्राविधिक शिक्षाको जग हो । शिक्षालयले दक्ष जनशक्ति उत्पादन मात्र होइन पूरै कर्णालीको आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याएको छ : कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री नरेश भण्डारीशिक्षालय स्थापनाको पृष्ठभूमि पनि निकै रोचक छ । जुम्लाका अधिकांश युवा कृषि र पशुपालनमै सीमित थिए । यही समयमा नेपाल सरकारको शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल (यूएमएन) ले कर्णालीमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना अघि सारे । यही योजनाअन्तर्गत पोखराको गण्डकी बोर्डिङ स्कुलसँग आबद्ध अमेरिकी नागरिक लेरी सी एसर र नेपाली टंकनाथ शर्मासहितको टोलीले कर्णालीका विभिन्न जिल्ला भ्रमण गरे ।

ग्रामीण क्षेत्रका युवालाई सीपमूलक शिक्षा दिने उपयुक्त स्थान खोज्ने क्रममा जुम्ला छनोटमा पर्‍यो । २०३५ सालमा निर्माण सुरु भएको केटीएसको औपचारिक उद्घाटन ५ साउन २०३७ मा भयो । २०४५ मा सीटीईभीटी स्थापना भएपछि केटीएस त्यसको पहिलो आंगिक शिक्षालय बन्यो । त्यसैले यसलाई नेपालकै पहिलो प्राविधिक शिक्षालय मानिन्छ । शिक्षालयका संस्थापक प्रिन्सिपल लेरी सी एसर नै थिए । कठिन भूगोलमा बसेर शर्मा र लेरीले शिक्षालय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याए । २०३७ देखि २०४० सम्म पहिलो शिक्षालय प्रमुखको नेतृत्व लेरीले नै गरेका थिए । शर्माले दोस्रो प्रमुखका रूपमा शिक्षालयलाई अघि बढाएका थिए ।

शिक्षालयका उपप्रमुख तथा पूर्वविद्यार्थी नन्द चौलागाईंका अनुसार सुरुमा कृषि र भेटेरिनरी जेटीए कार्यक्रम सञ्चालन थियो । ७ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई गाउँ–गाउँबाट छनोट गरी ल्याइन्थ्यो । तीन वर्ष अध्ययनपछि १० महिने कार्यस्थल तालिम (ओजेटी) गराइन्थ्यो । बसोबास, खानपान र अध्ययन सामग्रीको अधिकांश व्यवस्था शिक्षालयले नै गर्थ्यो । ‘हामी पढ्दा महिनाको २५ रुपैयाँ मात्रै शुल्क तिथ्र्यौं,’ चौलागाईं भन्छन्, ‘त्यो खर्च जुटाउन पनि दाउरा बेच्नुपर्थ्यो ।’ २०४४ सालमा विद्यार्थीका रूपमा केटीएस भित्रिएका उनी अहिले शिक्षालयको नेतृत्व तहमा छन् । आफू यो तहमा पुग्नुको श्रेय शिक्षालय नै भएको चौलागाईं बताउँछन् ।

शिक्षालय उपप्रमुख चौलागाईंका अनुसार सुरुवाती चरणमा शिक्षालयमा करिब २०–२२ जना विद्यार्थी मात्र थिए । शिक्षक र प्रशिक्षकको संख्या पर्याप्त थियो । कृषि विज्ञान अध्ययन गरेका नेपाली प्रशिक्षकसँगै क्यानडा र नेदरल्यान्डका स्वयंसेवकसमेत यहाँ कार्यरत थिए । ‘त्यतिबेला एक शिक्षकले दुई–दुई विद्यार्थीलाई दिनभरि निगरानी गर्न सक्थ्यो,’ चौलागाईं सम्झिन्छन् ।

Karnali's 'glory' facing shortage

स्थापनादेखि करिब १५ वर्षसम्म यूएमएनले शिक्षालयको व्यवस्थापन सम्हाल्यो । २०५२ मा मात्रै यूएमएनले संस्थालाई पूर्ण रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसयता शिक्षालय पूर्ण रूपमा सीटीईभीटीअन्तर्गत सञ्चालन हुँदै आएको छ । शिक्षालय प्रशासनका अनुसार अहिले सातै प्रदेशका ५ सयभन्दा बढी विद्यार्थी यहाँ अध्ययनरत छन् । समयसँगै पाठ्यक्रम र कार्यक्रम पनि फेरिए । अहिले यहाँ डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, प्लान्ट साइन्स, फरेस्ट्री, फार्मेसी र प्रि–डिप्लोमा अन्तर्गत सब–ओभरसियर कार्यक्रम सञ्चालनमा छन् । विशेष छात्रवृत्तिअन्तर्गत एचए र प्लान्ट साइन्स कार्यक्रम पनि सञ्चालित छन् । विगतमा सीएमए र अनमीजस्ता कार्यक्रम सञ्चालनमा थिए ।

शिक्षालय प्रमुख विकल अधिकारीका अनुसार यहाँ ५० भन्दा बढी भवन, छात्रावास, पुस्तकालय, कम्प्युटर ल्याब, फार्मेसी ल्याब, सिभिल इन्जिनियरिङ ल्याब, कृषि फार्म र प्रयोगशालाजस्ता पूर्वाधार पर्याप्त छन् । ‘पर्याप्त पूर्वाधार भएकाले कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने संस्थाका रूपमा केटीएसको पहिचान छ,’ उनी भन्छन् ।

बाजुराबाट प्लान्ट साइन्स पढ्न जुम्ला पुगेका वसन्त भण्डारीले पुरानो इतिहास र अनुभवी शिक्षककै कारण केटीएस रोजेको बताए । ‘सोचेभन्दा राम्रो पढाइ भइरहेको छ,’ उनले भने । सिभिल इन्जिनियरिङका विद्यार्थी सागर भण्डारीको अनुभव पनि उस्तै छ । उनले प्रयोगात्मक र शिक्षण दुवै अपेक्षाभन्दा राम्रो पाएको सुनाए ।

चार दशकको अवधिमा यो शिक्षालयले थुप्रै प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । यहाँ अध्ययन गरेका विद्यार्थी कृषि, वन, स्वास्थ्य, निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा देशका विभिन्न भागमा कार्यरत छन् । कर्णालीका दुर्गम गाउँदेखि संघीय राजधानीसम्म केटीएसका पूर्वविद्यार्थीको उपस्थिति भेटिन्छ ।

Karnali's 'glory' facing shortage

चुनौतीका बीच पनि केटीएस दक्ष जनशक्ति उत्पादन गर्ने र आत्मनिर्भर बनाउने यात्रामा निरन्तर अघि बढिरहेको प्रमुख अधिकारीको दाबी छ । शिक्षालयमा हाल पाँच वटा कार्यक्रमअन्तर्गत देशभरका ५३० जना विद्यार्थी अध्ययनरत छन् ।

फार्मेसी, सिभिल इन्जिनियरिङ, प्लान्ट साइन्स र फरेस्ट्री विषयमा तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा छन् । साथै १८ महिने प्रि–डिप्लोमा सिभिल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालन भइरहेको छ । अन्य निजी कलेजको तुलनामा कम शुल्कमा प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको शिक्षालयले फार्मेसीका लागि ७० हजार, सिभिल इन्जिनियरिङका लागि ६० हजार तथा प्लान्ट साइन्स र फरेस्ट्रीका लागि ५५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । विद्यार्थीले उक्त शुल्क किस्ताबन्दीमा समेत तिर्न सक्ने व्यवस्था छ । आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीका लागि विभिन्न छात्रवृत्ति कार्यक्रम पनि सञ्चालनमा छन् ।

शिक्षालयमा ५० भन्दा बढी भवन, छात्रावास, पुस्तकालय, प्रयोगशाला तथा कृषि फार्म रहेका छन् । २०० भन्दा बढी विद्यार्थी अट्ने छात्रावास सुविधासमेत उपलब्ध छ । अहिले पनि १५० जना छात्रावासमा बसिरहेका छन् । शिक्षालय प्रशासनका अनुसार यहाँ अध्यापन गराउने शिक्षक प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दक्ष जनशक्ति हुन् ।

विद्यार्थीलाई आकर्षण गर्न शिक्षालयले विभिन्न योजना ल्याउने गरेको छ । हाल मात्रै शिक्षालयले लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरेर २५ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति दिने योजना ल्याएको छ । यसबाहेक प्रत्येक कक्षामा ४० विद्यार्थी भर्ना कोटामा ३ जनालाई सीटीईभीटीको वर्गीकृत छात्रवृत्ति दिइन्छ । र प्रत्येक वर्षका उत्कृष्ट विद्यार्थीले अर्को वर्ष भर्ना शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमै प्राविधिक शिक्षा कार्यक्रम विस्तार भएकाले विद्यार्थी चाप भने कम हुँदै गएको शिक्षालय प्रमुख अधिकारीले बताए । उनका अनुसार विगतमा सञ्चालनमा रहेका अनमी र सीएमएजस्ता कार्यक्रम बन्द हुँदा अहिले ती विषयमा पढाइ भएको छैन ।

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिलामन्त्री नरेश भण्डारीले शिक्षालयले दक्ष जनशक्ति उत्पादन मात्र होइन पूरै कर्णालीको आर्थिक गतिविधिमा समेत योगदान गरिरहेको बताए । ‘शिक्षालय कर्णालीका लागि बरदान हो। यहाँको प्राविधिक शिक्षाको जग हो । यहाँका उत्पादनहरू अहिले देशैभरि फैलिएका छन्,’ भण्डारीले भने, ‘संरचनाको पुनर्निर्माण गरेर गुणस्तरीय शिक्षा प्रदानलाई प्राथमिकतामा राख्नुपर्छ ।’

पूर्वमन्त्री भण्डारीले शिक्षालयलाई विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने बताए । ‘स्टाफ नर्सको पठनपाठन सुरु गर्नुपर्छ । जसका लागि चिकित्सा शिक्षा आयोगले अनुमति दिनुपर्छ’ उनले भने, ‘जीर्ण बन्दै गइरहेको संरचना पुनर्निर्माण गर्दै गुणस्तरीय शिक्षा प्रदानमा प्राथमिकता दिनुपर्छ । प्राविधिक कलेजका रूपमा विकास गरेर प्राविधिक शिक्षाको हबका रूपमा विकसित गर्नु अहिलेको आवश्यकता हो ।’

रञ्जना

Link copied successfully