गृहमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले दरबारहत्या काण्डको फाइल अघि बढाउने निर्णय गरेको सुनाएका हुन् ।
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि उनले चारवटा निर्णय गरेका छन्, त्यसको दोस्रो नम्बरमा दरबार हत्याकाण्डको फाइल अघि बढाउने उल्लेख छ ।
दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।
गुरुङका अनुसार, जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएको मुद्दा फिर्ता लिन सकिने, नसकिने सन्दर्भमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय पहिलो नम्बरमा भएको छ ।
‘तेस्रो, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न स्रुक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजिलेन्स टिम (एसआईभीटी) गठन गर्ने,’ उनले भने, ‘चौथो, नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र फाइललाई टुंग्याउन निर्देशन दिने ।’
ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृतिअनुसार विशिष्टकृत समूह गठन गर्नेसमेत निर्णयमा उल्लेख छ । उनले आफू गृहमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि भने, ‘धेरै जना खुशी पनि हुनुहुन्छ होला, धेरै दुःखी पनि हुनुहुन्छ होला ।’
आफूलाई जेन-जी आन्दोलनदेखि नै अनेक आरोप लगाइएको भन्दै उनले भने, ‘म त थेग्न सकौंला तर, आइन्दादेखि कुनै नागरिकलाई नेपाली नागरिकलाई अपमान गर्न, चरित्र हत्या गर्ने कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई गम्भीरतापूर्वक हेर्नेवाला छ ।’
उनले आफूलाई जे भन्नुछ, जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने भए पनि अरु नेपाली नागरिकलाई दुःख दिएको हेर्न नसक्ने बताए । ‘छोरी-चेलीहरुलाई जुन तरिकाले चरित्र हत्या गरिन्छ, त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ,’ उनले थपे, ‘मिडिया ट्रायलको नाममा कसैले आत्महत्या गर्नु नपरोस् ।’
उनले अर्को प्रसंगमा हरेक फाइल खोलिने समेत बताएका छन् । छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री वालेन्द्र शाहले दुई महिनापछि उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । र, साँझ ५ बजे उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
