उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट टर्की हुँदै मेक्सिको जान लागेका थिए ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई विमानस्थलबाटै फिर्ता गरिएको छ ।
उनीहरु मंगलबार बिहान ६:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट टर्की हुँदै मेक्सिको जान लागेका थिए । दुवैलाई राष्ट्रिय खेलकुद परिषद्को पत्रका आधारमा विमानस्थलबाटै फिर्ता गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
सरकारले एन्फाका पदाधिकारी तथा सदस्य गरी २३ जना र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई विदेश जान रोक लगाउने निर्णय गरेको थियो । उनीहरूलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।
राखेपको निर्देशन अवज्ञा गरेको, स्वीकृतिबेगर चुनावी प्रक्रिया अगाडि बढाउन खोजेको लगायतका विषयमा दुई संस्थाबीच टकराव बढेको थियो । यसैबीच एन्फालाई निलम्बन गरिएको थियो । निलम्बनका बीच आफूखुसी विदेश भ्रमण जान सक्ने भन्दै राखेपले अध्यागमलाई विदेश जान रोक लगाउन सिफारिस गरेको थियो ।
