वरीयताक्रममा चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएपछि मल्ल बिदा बसेकी थिइन् ।
काठमाडौँ — वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनको लामो बिदापछि सर्वोच्च अदालत फर्केकी छन् । सोमबार मल्लको इजलास तोकिएको छ ।
वरीयताक्रममा चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएपछि मल्ल बिदा बसेकी थिइन् । मल्लको एकल इजलासमा ७ थान निवेदन पेशी तोकिएको छ।
रोलक्रमअनुसार प्रधानन्यायाधीश हुनुपर्नेमा संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेपछि मल्ल वरिष्ठ न्यायाधीशमै सीमित भएकी थिइन् ।
२०८३ वैशाख २४ गते प्रधानन्यायाधीशका लागि मल्ललाई छोडेर शर्माको नाम संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावमा शर्माको नाम सिफारिस गरिएको थियो ।
वैशाख ६ गते नियुक्त भएका शर्मालाई बधाई दिएर मल्ल २० दिन बिदामा बसेकी थिइन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनुवाइबाट अनुमोदित शर्मालाई नियुक्त गर्दै शपथ गराएका थिए । सोही दिन उनी सर्वोच्च पुगेर जिम्मेवारी सम्हालेका थिए ।
मल्ल अहिले पनि सर्वोच्चमा वरिष्ठतम न्यायाधीश भएकाले न्याय परिषद् सदस्य कायम छन् । उनी काममा फर्केकाले अब न्याय परिषद्को पनि बैठक प्रधान न्यायाधीश शर्माले बोलाउन सक्ने देखिन्छ । हाल सर्वोच्चमा तीन र उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५ न्यायाधीश पद रिक्त छ ।
