विश्वविद्यालय र प्रतिष्ठानमा उपकुलपति नियुक्ति : कहाँ पुग्यो प्रक्रिया ?

स्वास्थ्यसम्बद्ध परिषद्हरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी र सदस्यका लागि माग गरिएको आवेदन भने स्थगन गरिएको छ ।

जेष्ठ २४, २०८३

सुदीप कैनी

Appointment of Vice-Chancellors in Universities and Institutions: Where has the process gone?

What you should know

काठमाडौँ — सरकारले सबैजसो विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कार्यविधि जारी गर्दै छनोट तथा सिफारिस समितिमार्फत आवेदन आह्वान गरेका छन् । अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीलाई पदमुक्त गरिएको थियो ।

समितिले ८ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि सर्टलिस्ट (अल्पसूची) पनि सार्वजनिक गरेको छ । त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम र सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक गरेको हो । काठमाडौं, संस्कृत विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीमा पनि शिक्षा मन्त्रालयले उपकुलपपति, अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया खुला प्रतिस्पर्धाबाट अघि बढाएको छ । 

त्यस्तै स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसहित पाटन, कर्णाली, पोखरा, राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्ति प्रक्रिया थालेको छ । छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनको रुजु भइरहेको जनाएको छ । ६ प्रतिष्ठानका उपकुलपतिका लागि १ सय १३ जना आवेदक रहेका छन् । नेपाल मेडिकल काउन्सिल, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्का अध्यक्ष, रजिस्ट्रार, उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरूका लागि दरखास्त माग गरिएको हो ।

मन्त्रालयले २० जेठमा दरखास्त माग गरेका परिषद्हरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी र सदस्यको आवेदन भने स्थगन गरेको छ । कार्यविधिबिनै आवेदन माग भएपछि स्थगन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोग सदस्य रेसु अर्याल ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा सदस्य रहेको छनोट तथा सिफारिस समिति गठन गरिएको छ । संस्कृत विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्ट्रारका लागि समितिले आवेदन माग गरेको समय शुक्रबार सकिएको जनाएको छ । सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिव नियुक्तिका लागि सिफारिस समितिले बिहीबार दरखास्त आह्वान गरेको छ ।

शिक्षक सेवा आयोगको अध्यक्ष, सदस्य नियुक्तिका लागि कानुन व्यवस्थाअनुसार लोकसेवा आयोगलाई अनुरोध गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा लोक सेवाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनुअघि नै सिफारिस गरे पनि नियुक्त हुन सकेको छैन । सिफारिस भएका त्रिभुवन विश्वविद्यालयको पूर्वपरीक्षा नियन्त्रक पुष्पराज जोशीका विषयमा विभिन्न उजुरी र गुनासा प्राप्त भएकाले नियुक्ति प्रक्रिया होल्डमा राखिएको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दरखास्त संकलन गरी सर्टलिस्टको काम अघि बढाएको जनाएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि सर्टलिस्टमा परेकाहरूलाई २८ जेठमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाकिएको छ । छनोट तथा सिफारिस समितिको सूचनाअनुसार उपाध्यक्षका लागि चिकित्सकहरू श्रीकृष्ण गिरी, गेहनाथ बराल, रोशन पोखरेल, दिनेशकुमार लम्साल, दीपेन्द्र श्रेष्ठ, देवेन्द्रबहादुर खत्री, प्रमोदकुमार यादव, सञ्जयकुमार श्रेष्ठ, सुजन श्रेष्ठ र शैलेश प्रधान आवेदक छन् ।

८ विश्वविद्यालयको सर्टलिस्टमा को–को ?

८ विश्वविद्यालयको उपकुलपतिका लागि २ सय १८ जनाले आवेदन दिएका थिए । जसमध्ये त्रिविमा रामप्रसाद रेग्मी, भोला थापा, नन्दबहादुर सिंह, दुर्गादत्त पौडेल, ताराप्रसाद भुसाल, टंकनाथ धमला, गोविन्द सुवेदी, कृष्णराज आचार्य, कविप्रसाद पोख्रेल, अमरप्रसाद यादव सर्टलिस्टमा परेका छन् ।

कार्यविधिको व्यवस्थाअनुसार समितिले १० जनाको नाम सर्टलिस्ट गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयमा अजय भट्टराई, अनिलकुमार पोखरेल, अशोककुमार झा, जनार्दन लामिछाने, दिलिप पराजुली, देवेन्द्र अधिकारी, नरेन्द्र कटुवाल, माधव लम्साल, बिजुकुमार थपलिया र सुजुनबाबु मरहट्टा सर्टलिस्टमा परेका छन् ।

पोखरा विश्वविद्यालयमा मरहट्टासहित सरोज कोइराला, वीरबहादुर खनाल क्षेत्री, विजयसिंह सिजापति, निर्मला जमरकट्टेल, देवेन्द्र अधिकारी, दिलिप पराजुली, दीपकबहादुर भण्डारी, ज्ञानेश्वर शर्मा र चेतराज भट्ट सर्टलिस्टमा छन् । कार्यविधिमा १ जना उम्मेदवारले बढीमा दुई विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन पाउने व्यवस्था गरेका कारण सर्टलिस्टमा केही उम्मेदवार दोहोरिएका हुन् । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा होमबहादुर बस्नेत, विष्णुविलास अधिकारी, विमलकुमार लाल कर्ण, लालप्रसाद अम्गाईं, बलरामकुमार भट्ट, पुष्करबहादुर पाल, कालिकाबहादुर अधिकारी, कल्याणी मिश्र त्रिपाठी, ऋषिराम कट्टेल, अर्जुनबहादुर श्रेष्ठ सर्टलिस्ट भएका छन् । सर्टलिस्टमा पर्नेमध्ये कतिपय आवेदन अध्यादेशबाट विभिन्न पदबाट पदमुक्त भएकाहरू समेत छन् ।

मध्यपश्चिममा कल्याणी मिश्र त्रिपाठी, कविप्रसाद पोख्रेलसहित चन्द्रप्रसाद रिजाल, देवबहादुर खड्का, नन्दबहादुर सिंह, पन्ना थापा, राजन सुवाल, लक्ष्मण ज्ञवाली, सरोज कोइराला र सुशीलकुमार शाही सर्टलिस्टमा परेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, खेमराज जोशी, चेतराज भट्ट, जगतकृष्ण पोखरेल, डमरुचन्द्र भट्ट, पदमराज जोशी, महेशकुमार जोशी, राजेन्द्र जोशी, रामप्रसाद घिमिरे र विष्णुविलास अधिकारी सर्टलिस्ट भएका छन् ।

राजर्षि जनक विश्वविद्यालयमा अमरप्रसाद यादव, अशोककुमार झा, नन्दकिशोर साह, नरेन्द्र कटुवाल, राजनारायण यादव, रासबिहारी महतो, वसन्तकुमार कर्ण, विमलकुमार लाल कर्ण, श्यामकिशोर महतो र श्यामनारायण लाभ सर्टलिस्टमा छानिएको समितिले जनाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आवेदनको संख्या न्यून रहेकाले ७ जना मात्रै छानिएका छन् । समितिका अनुसार चन्द्रकला घिमिरे, तिलकराम आचार्य, दीपकप्रसाद आचार्य, फणीन्द्रकुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल र सुरेन्द्रमान वज्राचार्य सर्टलिस्टमा परेका छन् ।

समितिले उपकुलपति छनोटसम्बन्धी कार्यविधि आवेदनकै क्रममा जारी गरेको थियो । जसमा ३५ पूर्णांकमा व्यक्तिगत विवरणहरूको मूल्यांकन गरी संक्षिप्त सूची तयार पारिने उल्लेख छ । कुल १ सय पूर्णांकमध्ये बाँकी ६५ पूर्णांकमा उम्मेदवारको विश्वविद्यालयसम्बन्धी सोचपत्र, कार्ययोजना, त्यसको प्रस्तुति र अन्तर्वार्ता लिई मेरिटका आधारमा सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ ।

शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शिक्षा सचिव चूडामणि पौडेल र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्न सदस्य रेसु अर्याल ढुंगाना सदस्य रहेको समिति गठन गरिएको छ । समितिले विज्ञहरू नियुक्ति गरी आवेदकहरूको मूल्याङ्कन र अन्तर्वार्ता सञ्चालन गर्ने जनाएको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully