मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख

बारामा अभिलेख भएसँगै काँडे भ्याकुरको भौगोलिक वितरण नेपालका सातै प्रदेशमा पुगेको छ ।

जेष्ठ २४, २०८३

मनोज पौडेल, फणीन्द्र संगम

First record of the thorny hawk in Madhesh Province

What you should know

लुम्बिनी/काठमाडौं — नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर (स्पाइनी ब्याब्लर) पहिलोपटक मधेश प्रदेशमा भेटिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दुधौरा खोलानजिक उक्त चरा अभिलेख गरिएको हो ।

यो अभिलेख हालसम्म मधेश प्रदेशका लागि पहिलो भएको चराविद् हठन चौधरीले बताए । उक्त चरा चौधरीसहित सुरज बरालले फेला पारेका हुन् । अवलोकनमा वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आशिष पन्त, सुमी सिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी थिए । 

'त्यहाँ हामीले चार वटा काँडे भ्याकुर भेट्यौं,' चौधरीले भने, 'अन्य प्रदेशका विभिन्न ठाउँमा अभिलेख भइसकेको छ । मधेश प्रदेशमा अभिलेख भएसँगै यसको उपस्थिति नेपालका सातै प्रदेशमा रहेको पुष्टि भएको छ ।' 

महेन्द्र राजमार्गको पूर्वतर्फ समुद्री सतहबाट करिब ४४३ मिटर उचाइमा रहेको चुरे क्षेत्रको जंगलमा उक्त चरा गत जेठ २१ गते बिहान ८:३० बजे भेटिएको हो । नमुना महिला सामुदायिक वन रहेको उक्त क्षेत्रमा घाँसेमैदान, खोटेसल्ला, खयर, सिसौमिश्रित झाडी र बुट्यान पाइन्छ ।

First record of the thorny hawk in Madhesh Province

अहिले नेपाल पक्षीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टले मधेश प्रदेशका आठै जिल्लामा चरा सर्वेक्षण कार्यक्रम गरिरहेका छन् । सर्वेका क्रममा काँडे भ्याकुर पनि भेटिएको चौधरीले बताए । मधेशमा यसअघि जाडोयाममा पनि गत माघ–फागुनमा चरा सर्वेक्षण सम्पन्न भएको थियो । दोस्रो चरणको सर्वेक्षण जेठ १८ गतेदेखि भइरहेको छ ।

यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा यो चरा अभिलेख भइसकेको छ । तर मधेश प्रदेशमा भने यसको उपस्थिति पुष्टि भएको थिएन । बारामा अभिलेख भएसँगै काँडे भ्याकुरको भौगोलिक वितरण नेपालका सातै प्रदेशमा पुगेको छ ।

नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर पासेरिफोर्मिस वर्गको लियोथ्रिचिडी परिवारमा पर्छ । नेपालमा एक हजार ८ सय ३० मिटर उचाइसम्म अभिलेख भएको रेकर्ड छ । तर, बारामा भएको अभिलेख हालसम्मकै होचो भूभागमा भेटिएको पुष्टि भएको चराविद् मनशान्त घिमिरेले बताए । 

First record of the thorny hawk in Madhesh Province

नेपालमा मात्र अभिलेख भएको यो चरा निक्कै सुन्दर र चित्ताकर्षक छ । घुम्रिएको कालो ठुँड, अरु चराभन्दा पृथक् र चर्को सुसेली गीत गाउने हुँदा यसको स्वर कोकिल र कर्णप्रिय छ । करिब २६ सेन्टिमिटर लामो हुने काँडे भ्याकुरको शारीरिक रङ खैरो कैलो र अनुहारदेखि पेटसम्म सेता धर्का फैलिएका हुन्छन् । विशेषगरी यसले उन्युँ वा खरघाँसमा गुँड लगाउँछ । उन्युँ वा खरघाँस भएको काँडे र खस्रा वनमा बस्न मन पराउने भ्याकुर भएकाले पनि यसलाई काँडे भ्याकुर भनिएको हो । 

नेपालमा सबैभन्दा पहिले काँडे भ्याकुर चरा बेलायती वरिष्ठ वन्यजन्तु अन्वेषक तथा प्रकृतिविद् ब्रायन हडसनले पत्ता लगाएका थिए । उनले सन् १८३० मा काठमाडौं उपत्यकामा यो चराको पहिलो अभिलेख गरेका थिए । त्यसपछि यो चरा झन्डै एक सय वर्षसम्म हरायो । त्यसपछि प्रसिद्ध अमेरिकी चराविद् एस डिल्लन रिप्लेले उक्त चराको खोज अनुसन्धान गरे ।

कर्णाली प्रदेशको रेक्चा गाउँमा सन् १९४८/४९ तिर फेला पारेर इन सर्च स्पाइनी ब्याबलर पुस्तक लेखेका थिए । त्यसपछिदेखि निरन्तर रुपमा उक्त चरा देखिएको वरिष्ठ चराविद् हेमासागर बराल बताउँछन् । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully