टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन, संसद् सञ्चालन र उत्तरदायित्वबारे छलफल हुँदै

प्रतिनिधि सभा तथा प्रदेश सभाका सभामुख/उपसभामुखहरु, राष्ट्रिय सभा अध्यक्षसहित संसद्का अधिकारीहरुको सहभागितामा शनिबारदेखि सुरु भएको सम्मेलनमा संसद सञ्चालन, कानुन निर्माण र उत्तरदायित्व विषयमा छलफल हुँदैछ।

जेष्ठ २३, २०८३

अर्जुन शाह

Inter-legislative conference underway in Tikapur, discussions on parliamentary operations and accountability

धनगढी — कैलालीको टीकापुरमा शनिबारदेखि अन्तर ब्यवस्थापिका सम्मेलन सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित प्रदेश सभाका सभामुखहरु, उपसभामुखहरु, संघीय संसदका महासचिव, सचिव, प्रदेश सभाका सचिवहरुलगायत सम्मेलनमा सहभागी छन् । सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गरेका छन् ।

सम्मेलनमा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, उपसभामुख रुवी कुमारी ठाकुर, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत प्रदेश सभामुखहरु सहभागी रहेको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले बताए । ‘६ वटा प्रदेश सभाका सभामुखसहित संघीय संसदका प्रमुुख र पदाधिकारीहरु सम्मलेनमा सहभागी हुनुहुन्छ,’ भण्डारीले भने, ‘संघीय संसदका महासचिव, सचिव, प्रदेश सभाका सचिवलगायत विज्ञहरु पनि सहभागी छन् ।’ सम्मेलनको आयोजना अन्तर व्यवस्थापिका मञ्चले गरेको हो ।

सम्मेलनमा संघीय संसद र प्रदेश सभाका अनुभव आदान प्रदान, सभाको सुदृढ सञ्चालन, कानुन निर्माण, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने विषय, बजेट निर्माण तथा कार्यान्वयनमा संसदको भूमिका लगायतका सन्दर्भमा सभाको भूमिकाका विषयमा छलफल हुने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ । ‘खासगरी कानुन निर्माण र सभालाई कसरी थप मर्यादित र व्यवस्थित गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल केन्द्रित हुनेछ,’ सभामुख भण्डारीले भने, ‘विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तालिकासमेत छ ।’ साथै, उद्घाटन सत्रपछि सभामुख, उपसभामुख तथा संसद्का सचिवहरुको बेग्लाबेग्लै समूह बनाएर छलफलसमेत गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि अन्य प्रदेशमा हुँदै आएको अन्तर व्यवस्थापिका सम्मेलन सुदूरपश्चिममा भने पहिलोपटक आयोजना भएको हो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully