डेथ–जोनमा ६ दिनसम्म हराएका शेर्पा जीवित भेटिए, पर्वतारोहण कम्पनीको व्यवस्थापनमाथि गम्भीर प्रश्न

दावा जीवितै उद्धार भएको खुसीको खबरसँगै यो घटनाले आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरबाही, व्यवस्थापकीय कमजोरी र सम्भावित गैरव्यावसायिक अभ्यासबारे प्रश्न उठेको छ।

जेष्ठ २२, २०८३

सुरज कुँवर

Sherpa missing for 6 days in Death Zone found alive, raises serious questions about management of mountaineering company

What you should know

काठमाडौँ — सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा (हिलारी) ६ दिनपछि जीवित फेला परेका छन् । ओखलढुंगाका ५६ वर्षीय दावा १५ जेठमा सगरमाथाको अत्यन्त खतरनाक ‘डेथ जोन’ क्षेत्रमा हराएका थिए । उनी सातौं दिन बिहान खुम्बु आइसफल नजिक ‘क्र्याम्पोन पोइन्ट’ भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिएका थिए । आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई ‘चमत्कार’ भनेका छन् । 

पर्वतारोही छिरिङ जाङ्मु शेर्पाका अनुसार हिमाली क्षेत्रमा त्यति लामो समयसम्म अत्यधिक चिसो, अक्सिजनको कमी, खाना–पानी र आश्रयबिना जीवित रहनु अत्यन्तै दुर्लभ मानिन्छ । ‘यो घटना त हिमाली क्षेत्रकै लागि अत्यधिक दुर्लभ भयो,’ एभरेस्ट शेर्पा एक्सपिडिसन कम्पनीका सञ्चालक तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त गाइड शेर्पाले भने, ‘यो त पर्वतारोही र हिमाली भेगका चिकित्सकहरूका लागि पनि अनौठो घटना हो ।’

दावाको खोजीका लागि बुधबार काठमाडौंबाट हेलिकोप्टर परिचालन गरिएको थियो । हिमाली क्षेत्रमा खोजी तथा उद्धारमा कहलिएका क्याप्टेन विवेक खड्का दुई जना सहयोगीसहित दावा खोजीमा परिचालन भएका थिए । ‘सगरमाथा आधार शिविरदेखि ७ हजार ३ सय मिटर उचाइको तेस्रो शिविरको पाखासम्म झन्डै २५ मिनेट आकाशबाट खोजे पनि फेला पारेनौं,’ अल्टिच्युड एयरका क्याप्टेन खड्काले कान्तिपुरसँग भनेका थिए ।

बिहीबार बिहान दावा आधार शिविर नजिकै भेटिएको खबर त्यहाँ सफाइ गरिरहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले दावाका साथी पासाङ दावा शेर्पालाई खबर गरेका थिए । पासाङ उनका पुराना साथी हुन् । ओखलढुंगा निवासी पासाङले पनि दावाको खोजी अभियान चलाएका थिए । पासाङले दावा भेटिएको खबर पाएपछि सबैतिर सूचना प्रवाह गरेको बताए ।

दावा भेटिएको खबर पाएलगत्तै लुक्लामै रहेका क्याप्टेन खड्का एटकेका लाक्पा शेर्पासहितले आग्रह गरेपछि लुक्लाबाट गोरेक्सेपसम्म चार्टर्ड उडान गरेका थिए । हेलिकोप्टर पुग्दासम्म दावालाई बोकेर गोरक्सेपसम्म ल्याइपुर्‍याइएको थियो । त्यहाँबाट क्याप्टेन खड्काले हेलिकोप्टरमा राखेर लुक्लामुनिको सुर्के ल्याए । र, त्यहाँ केहीबेर आराम र खाना खुवाएर हेलिकोप्टरमा काठमाडौंको चक्रपथस्थित ह्याम्स अस्पताल पुर्‍याइएको थियो । त्यसपछि खड्का पुनः लुक्ला नै फर्केका थिए । दावाको पछिल्लो पटक खोजीका लागि हेलिकोप्टर चार्टर उडान ठमेलमा रहेको एटके एक्सपिडिसनले गरेको कम्पनीका सञ्चालक लाक्पा शेर्पाले बताए ।

दावा जीवितै उद्धार भएको खुसीको खबरसँगै यो घटनाले आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरबाही, व्यवस्थापकीय कमजोरी र सम्भावित गैरव्यावसायिक अभ्यासबारे प्रश्न उठेको पर्वतारोहण सञ्चालक संघ नेपालका एक पदाधिकारीले बताए । आरोहण बूढानीलकण्ठस्थित हिमालय ट्राभर्स एडभेन्चर प्रालिले ठमेलमा रहेको एटके एक्सपिडिसनमार्फत गराएको थियो । हिमालय ट्राभर्सबाट गएको सगरमाथा आरोहण टोलीमा बेलायती नागरिक क्रिस थ्रल र पोलिस नागरिक मारुस सिमलेस्कीसहित ५ जना थिए । चुचुरो नजिकै पुगेर फर्केका मारुसले हिमालय ट्राभर्सले व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । 

हिउँले दुवै हातका औंला खाएपछि ह्याम्स अस्पतालमा उपचाररत मारुसले अभियानलाई अव्यवस्थित, खतरनाक र अव्यावसायिक रूपमा सञ्चालन गरिएको आरोप लगाए । उनले कान्तिपुरसँग भने, ‘यो अभियान आयोजना गर्ने कम्पनीबारे मलाई गम्भीर शंका छ । शिखर आरोहण प्रयाससहित सबै काम ढिलो र अव्यवस्थित थिए ।’ मारुसले यो अभियानमा पेसागत तयारीभन्दा ‘अव्यवस्था र तत्काल निर्णय’ बढी गर्ने गरिएको बताए । उनका अनुसार आरोहणका लागि क्याम्पहरू अन्तिम समयमा मात्र बनाइएको थियो । सञ्चार सुविधा लगभग नभएको र खाना आपूर्ति अत्यन्तै कमजोर रहेको पनि उनले बताए ।

आधार शिविरबाट क्याम्प–२ सम्म १५ घण्टाको कठिन यात्रापछि पनि उनीहरूलाई भोलिपल्टसम्म खाना र पानी नदिइएको मारुसको गुनासो छ । सहयोगी टोलीले खाना पकाउने स्टोभ पनि चलाउन नसकेको उनले बताए । १४ जेठमा शिखर आरोहण गर्ने प्रयास असफल भएपछि ८ हजार ४ सय ५० मिटरबाटै मारुस फर्किएका थिए । आरोहण दलका अर्का सदस्य बेलायती नागरिक क्रिस थ्रलले भने सगरमाथामा सफल आरोहण गरेको र उनी अन्य टोलीका साथ क्याम्प–४ फर्किएको मारुसले बताए ।

मारुसका अनुसार १५ जेठमा मौसम अत्यन्त खराब हुँदा उनीसँग भएको अक्सिजन सिलिन्डरमा करिब २० युनिट मात्र बाँकी थियो, जुन ३० मिनेट जति मात्र पुग्ने थियो । आफूले ७ वटा सिलिन्डर खरिद गरेको भए पनि खराब व्यवस्थापनका कारण अक्सिजन सिलिन्डर पर्याप्त नपाएको गुनासो गरे । उनका अनुसार एक शेर्पाले उनलाई तलतिर ओर्लिंदा स्पेयर अक्सिजन दिने आश्वासन दिएका थिए । तर पछि आफ्नै लागि अक्सिजन लिएर अघि बढेको उनले आरोप लगाए । 

मारुसका अनुसार बेलायती आरोही क्रिस थ्रल र दावा क्याम्प–४ बाट छुट्टिएका थिए । ७ हजार ५ सयदेखि ७ हजार ६ सय मिटरको उचाइमा अक्सिजनबिना यात्रा गर्नुपरेको बताउँदै मारुसले थ्रलसँग बाटोमा भेटेको बताए । थ्रलले आफू दावासँग छुट्टिएर अघि बढेको र उनको अवस्था ठीक छ भन्दै तल झर्न आग्रह गरेको मारुसले सुनाए । यी दुवै आरोही आधा रातमा बाक्लो हिउँ छिचोल्दै खुम्बु आइसफल पार गर्दै तल झरेका थिए । आफूहरूले एउटै हेडलाइट प्रयोग गर्दै र छोटो समयका लागि अक्सिजन पनि बाँडेर यात्रा गर्नुपरेको उनीहरूले बताए । 

पोलिस आरोहीका अनुसार, वाकीटकी र स्याटेलाइट फोन दावासँगै भए पनि चौथो क्याम्पपछि सम्पर्क टुटेको थियो । आरोहण व्यवस्थापन गर्ने कम्पनीले तुरुन्तै खोजी अभियान नचलाएको पनि मारुसको आरोप छ । ‘दावाका लागि कुनै खोजी अभियान भएन । शेर्पा पठाइएन । मलाई कसैसँग कुरा नगर्न र मिडियामा केही नबोल्न भनियो,’ उनले भने ।

लामो समयसम्म सम्पर्क नभएपछि थ्रलले इन्स्टाग्राममा भावुक सन्देश जारी गर्दै दावालाई ‘पहाडका सच्चा योद्धा’ भनेर श्रद्धाञ्जली लेखेका थिए । मारुसले पनि दावालाई मृत ठानेर मंगलबार एउटा श्रद्धाञ्जली स्टाटस सार्वजनिक गरेका थिए । मारुसका अनुसार हिमालय ट्राभर्सका प्रमुख दावा शेर्पाले काठमाडौंबाट बिदा हुनुअघि आरोहणमा अनुभवी शेर्पा मात्र प्रयोग गर्ने भनेका थिए । तर, सगरमाथा आरोहणको अनुभव नभएका दावा (हिलारी) लाई गाइडका रूपमा पठाइएको थियो । 

दावा (हिलारी) आफैंले पछि मारुससँगका कुराकानीमा आफूले कहिल्यै सगरमाथा नचढेको स्विकारेका थिए । उनकी छोरी मेन्दो शेर्पाले पनि आफ्ना बुबाले हालसम्म सगरमाथा आरोहण ‘नगरेको’ र उनलाई यस पटक हिमाल आरोहण दलमा खाना पकाउनेलगायत सहयोगी कामको जिम्मेवारी दिइएको कान्तिपुरसँग बताइन् ।

दावा सुरुमा क्याम्प–२ मा खाना पकाउने र व्यवस्थापन गर्ने भूमिकामा मात्र थिए । तर योग्य जनशक्ति अभावका कारण उनलाई शिखर आरोहणमा पठाइएको थियो । मारुसले कम्पनीका व्यवस्थापक दावा शेर्पा (काले) र उनका छोरा आङफुर्वा शेर्पामाथि ‘पैसा मात्र हेर्ने’ र ‘मानव जीवनसँग खेलबाड’ गर्ने आरोप लगाएका छन् । उनका अनुसार अस्पतालमा भेट्न आएका कम्पनीका प्रतिनिधिले उद्धारमा खर्च भएको बताउँदै उनले जम्मा गरेको १५ सय डलरको डिपोजिट रकम फिर्ता नहुने बताएका थिए । पोलिस आरोहीले यो घटनाको विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन् ।

दावा भने आईसीयूमा उपचार गराइरहेका छन् । उनका साला निमा नगटी शेर्पाले दावा राम्रोसँग बोलिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘मैले ३–४ मिनेट कुरा गरें । उहाँको अवस्था ठीकै छ । हातका केही औंला हिउँले खाएको छ ।’ दावाले भने आफ्नो परिवारलाई चौथो शिविरमा समूहबाट छुट्टिएको बताएका छन् । ‘बुबा चौथो शिविरमा पछाडि पर्नुभएको रहेछ,’ मेन्दोले भनिन् ।

दावाले तेस्रो शिविरमा आरोहीहरूले छाडेका खाना खाँदै, हिउँ खाडलमा झरेर अड्किएको, आरोहण गराउने बाटोमा टाँगिएका भर्‍याङ–डोरी झिकिएकाले बाटो पहिल्याउन मुस्किल परेको लगायत परिवारलाई भनेका छन् । चिकित्सकले स्वास्थ्यका कारण बोल्न नदिएकाले उनको भनाइ आएको छैन । हिमालय ट्राभर्सका प्रमुख दावा शेर्पा र अर्का सञ्चालक आङफुर्वा शेर्पाले घटनाका विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे । 

यो घटना बाहिरिएपछि पर्वतारोहण कम्पनीहरूको नियमन, लाइसेन्स जाँच र सुरक्षा मापदण्डबारे गम्भीर बहस सुरु भएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यो घटनाको विस्तृत छानबिन सुरु भइसकेको बताउँदै बिहीबार आरोहण दलका सम्पर्क अधिकृत मधुसुदन पुडासैनीसँग सोधपुछ गरिएको बताए । ‘यो घटनाको विस्तृत छानबिन गर्छौं । दोषी देखिए संलग्न कम्पनीलाई कानुनअनुसार कडा कारबाही हुनेछ,’ महानिर्देशक लामिछानेले भने ।

सगरमाथामा हरेक वर्षको वसन्त याममा २९ मेपछि आरोहण रोकिन्छ । यस पटक दावासहितको आरोहण दल लगभग अन्तिमतिर सगरमाथा आरोहणमा उक्लिएको थियो । उनी माथि हुँदाहुँदै चौथो शिविरमुनिका बाटोमा राखिएका डोरी र भर्‍याङ तान्ने काम भएको विषयमा अस्थायी सम्पर्क कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, पर्वतारोहण सञ्चालक संघलगायतको भूमिकाबारे पनि छानबिन गर्नुपर्ने आरोहीहरूको माग छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully