विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई शुक्रबार थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाएको हो ।
काठमाडौँ — विशेष अदालतले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा पठाएको छ ।
विशेष अदालतले शुक्रबार थुनछेक बहसपछि पुर्पक्षका लागि उनलाई थुनामा पठाएको हो ।
सुटकेसमा विद्युतीय चुरोट(भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
बरामद भएको सुटकेस गोदाममा राख्ने जिम्मा पाएका नासु खड्काले त्यहाँभित्र सुन भएको थाहा पाएपछि साटेर अरु भेप सुटकेसभित्र राखी सुन राखेका भेप निकालेका थिए । उनले त्यहाँबाट निकालेको सुन न्युरोडमा लगेर बेचेको अभियोगपत्रमा उल्लेख छ । उनी यसअघि दायर भएको सुन तस्करीको मुद्दामा दोषी भइसकेका आरोपित हुन् ।
अख्तियारले खड्कालगायत पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल लगायतमाथि सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो । महरा केही दिनअघि धरौटीमा छुटेका थिए ।
त्यही मुद्दामा विशेष अदालत उपस्थित गराइएकोमा उनलाई बयानपछि थुनामा पठाइएको हो ।
