पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत भ्रमणका क्रममा दुवै नेतालाई नेपाल भ्रमणको निम्तो दिएको बताएका हुन् ।
What you should know
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् ।
भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत भ्रमणका क्रममा दुवै नेतालाई नेपाल भ्रमणको निम्तो दिएको बताएका हुन् । सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गरे । उनले राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको समेत स्पष्ट पारे ।
उनले भने, ‘त्यहाँका समस्या त भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको आम समस्या नै हुन् । त्यसकारण हामीले तत्कालै, आजकै दिनमा, ती सबै समस्यालाई सम्बोधन गर्न सक्ने क्षमता अभिवृद्धि गरिसकेका छैनौं, किनभने भर्खरै मात्र सरकार गठन भएको छ । त्यसका लागि त्यहाँ रहेको दूतावास र सम्बन्धित संयन्त्रलाई अझ बढी चुस्त बनाउने तथा नागरिकका गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने बनाउने प्रयास गरिएको छ ।’
भारतमा रहेका नेपाली नागरिकले भोग्दै आएका समस्याका विषयमा सोधिएको प्रश्नमा लामिछानेले त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित संयन्त्रलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिए । भारतमा रहेका नेपालीका स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जनजीवनसँग जोडिएका विविध समस्याहरूलाई सम्बोधन गर्न सरकारी संयन्त्रको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
सभापति लामिछानेले प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भए पनि ती समस्या समाधान गर्ने संयन्त्र सक्रिय र चुस्त भएमा त्यसलाई उल्लेख्य रूपमा कम गर्न सकिने धारणा व्यक्त गरे ।
