स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयसमेत रहेको ‘सेवा तीर्थ’ भवनमा खनाल र डोभालबीच अपराह्न ५ बजेपछि भेटवार्ता भएको हो ।
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार नयाँदिल्ली पुगेलगत्तै भेटवार्ता सुरू गरेका छन् । उनको पहिलो भेट भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयसमेत रहेको ‘सेवा तीर्थ’ भवनमा खनाल र डोभालबीच अपराह्न ५ बजेपछि भेटवार्ता भएको हो ।
दिल्लीको ताज महल होटलमा बसेका मन्त्री खनाल होटलबाट सेवा तीर्थ पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा पुगेका रास्वपा सभापति रवि लामिछाने पनि त्यही होटलमा बसेका थिए ।
लामिछानेले आफ्नो पाँच दिने भ्रमण पूरा गरेर फर्किंदै गर्दा खनाल दिल्ली ओर्लिएका हुन् । काठमाडौं फर्किदै गरेका लामिछाने र खनालबीच दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ‘सेरोमेनियोल लाउन्ज’मा केहीबेर भेटवार्तासमेत भएको छ । खनाल पुगेको नेपाल एयरलाइन्सको विमानबाटै लामिछाने काठमाडौं फर्किएका हुन् ।
भारतीय विदेशमन्त्री एस.जयशंरको निमन्त्रणमा उनी दिल्लीको औपचारिक यात्रामा गएका हुन् । समकक्षी जयशंकरसँगको द्विपक्षीय र डेलिगेसनसहितको बैठक शनिबार हुनेछ । खनालले प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटघाट गर्ने सम्भावना छ ।
