परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार नयाँ दिल्ली पुगेका हुन् ।

जेष्ठ २२, २०८३

रासस

Foreign Minister Khanal in New Delhi

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका छन् । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उनी शुक्रबार नयाँ दिल्ली पुगेका हुन् ।

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए । मन्त्री खनाल शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

रासस

Link copied successfully