उद्योगमा रहेका करोडौंका मेसिन, भौतिक संरचना र फाइबर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बारा — वीरगन्ज-पथलैया त्रिभुवन राजपथमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका-९ स्थित धागो उत्पादन गर्ने त्रिवेणी स्पेनिङ मिलमा शुक्रबार भीषण आगलागी भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा उद्योगमा रहेका करोडौंका मेसिन, भौतिक संरचना र फाइबर जलेर नष्ट भएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
आगो नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालनसँगै १२ वटा बारुणयन्त्र (दमकल) प्रयोग गरिएको थियो । वीरगंज महानगर, जीतपुरसिमरा र कलैया उपमहानगर, सिमरा एयरपोर्ट, हेटौंडा, निजगढ, कोल्हबी, महागढीमाई, निजगढ नगरपालिका, खुटवा प्रसौनी गाउँपालिका, अमलेखगन्ज आयल निगमलगायतबाट १२ वटा दमकल प्रयोग गरिएको थियो ।
अहिले आगलगी नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक कुँवरले बताए । आगलगीबाट तयारी कपास १८० टन, भवन, कन्डेसनर, एमबियो मेसिन, फाइबर, एमओ मेसिन जलेर नष्ट भएको छ । बिहान ११ बजे भएको आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । क्षतिको पूर्ण विवरण संकलन भइरहेको उनले बताए छ ।
