इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट १७ जेठमा पक्राउ गरेर नेपाल ल्याइएकी तुल्सालाई जिल्ला अदालत ललितपुरले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
What you should know
काठमाडौं — सामाजिक संजाल टिकटक चलाउनेमध्ये कमैलाई थाहा नहोला तुल्सा (तुल्सी) अधिकारीबारे । यिनै तुल्सा पछिल्लो समय प्रहरी अनुसन्धानमा तानिएपछि चर्चामा छिन् । इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट १७ जेठमा पक्राउ गरेर नेपाल ल्याएपछि प्रहरीले उनलाई बयानका लागि जिल्ला अदालत ललितपुर पेस गरेको थियो । अदालतले बिहीबार बहस सकिएर उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले उनी जोडिएको आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा उनलाई आदालतमा हाजिर गराइएको बताए ।
तुल्सा पक्राउ प्रकरण के हो ? उनीमाथि लागेको मुद्दाको प्रकृति कस्तो हो ? ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
टिकटकर अधिकारीमाथि लागेको आरोप के हो ?
एकल महिला तुल्सा टिकटकमा समसामयिक विषयवस्तुमा टिप्पणी गरेर चर्चामा आएकी थिइन् । टिकटकमार्फत नै उनले ज्वेलरीसँग सम्बन्धित व्यवसाय अघि बढाइरहेकी थिइन् । यिनै तुल्सामाथि ललितपुरमा पुरानो गाडी किनबेच गर्ने हाम्रो अटोमोबाइल्स प्रालि चलाउँदै आएका कुमार चिमोरियाले आपराधिक विश्वासघात र संगठित अपराधमा मुद्दा दर्ता गरे ।
चिमोरियाले दर्ता गरेको जाहेरीमा २०७५ साल फागुन महिनातिर अधिकारीले 'महेन्द्रा गाडीको शो रुम'मा काम गर्ने कर्मचारी भएको भन्दै उनलाई पहिलो पटक फोन गरेकी उल्लेख गरेका छन् । ‘कम्पनीको सेकेण्ड ह्याण्ड गाडीहरू एक्सचेन्जमा आउने गर्छ, तपाईंले बुटवलमा गाडी हेर्न आउन मिल्दैन भन्दै ह्वाट्स एप नम्बर मागेकी थिइन्,’ उनको जाहेरीमा उल्लेख छ, ‘ह्वाट्स एप नम्बरमा गाडीको फोटो पठाइदिने भनेपछि मैले सम्पूर्ण व्यवसायिक र परिवारिक कुरा बताएको थिए ।’
२०७५ सालको जेठ महिनाभित्र बुटवलमा रहेको जगदम्बा स्टिलको गाडी डिल भएका बेला आफू त्यहाँ पुगेको उनले बताएका छन् । ‘त्यसबेला उहाँसँग कुरा हुँदा मलाई नभेटी कसरी जानुहुन्छ भन्नुभयो, त्यसपछि मैले भेट गर्न आफूले खरिद गरेको गाडी लिएर पर्खी बसेको थिएँ,’ उनले भने, ‘भेटपछि खाजा खान जाऔं भनेको र मैले हुन्छ भनेको थिएँ । त्यसबेला उहाँले नै भनेको ठाउँमा गएका थियौं ।’
खाजा खान भन्दै गएको होटलमा शारीरिक सम्पर्क राख्ने वातावरण सिर्जना गराएको उनको दाबी छ । पछि उनले दैनिकजसो फोन गरेर ‘हामी बसेको कुरा आफन्तले थाहा पाएछन्’ भन्दै रकम माग्न थालेको चिमोरियाको दाबी छ । ‘आफूसमेत अफ्ठ्यारोमा पर्ने ठानेर मैले पैसा पठाइदिएँ, पछि उनले मसँग अझ ठूलो डिमाण्ड गर्न थालिन्,’ उनको दाबी छ, ‘मैले पैसा छैन भनी कुरा गर्दा उसले तपाईं र मबीच भएको सम्बन्धको बारेमा आफन्तले थाहा पाइ प्रहरी केस गर भन्दैछन्, म मानेको छैन भन्ने गरेकी थिइन् ।’
आफूले भनेअनुसारको पैसा नदिए बेइज्जत हुने भयो भन्दै आफ्नो व्यवस्थापन नगरिदिए जबरजस्ती करणीको मुद्दा हालिदिन्छु भनेको समेत उनले दाबी गरेका छन् । त्यसअनुसार ललितपुरको नखिपोटमा ३ कोठाको फ्याल्ट भाडा आफूले तिरेको उनले भनेका छन् । पछि पुरानै कुरा निकालेर पसल खोल्न सहयोग मागेको समेत उनले भनेका छन् । ‘डरले गर्दा मैले ७ लाख ७५ हजारमा फेन्सी पसल खरिद गरी दिएको थिएँ,’ उनले उल्लेख गरेका छन्, ‘पछि इमाडोलको बाहुनधारामा चोकमा ६ लाख ७५ हजार दिएर पसल किनिदिएको थिएँ ।’ पछि उक्त पसल तुल्सा कलेक्सन नाम राखेर सञ्चालन गर्न थालेको र केही समय पछाडि धातु र स्टोनसम्बन्धी व्यापार गर्ने भन्दै डर त्रासमा पारेर २५ लाख रुपैयाँ लिएको उनको दाबी छ । त्यसपछि समेत कल र म्यासेज गरेर धम्की दिएर ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र सामान लिएको दाबी उनले गरेका छन् ।
तुल्सालाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत किन रेड नोटिस जारी गरायो ?
जतिबेला तुल्साविरुद्ध जाहेरी परेर प्रहरीले अनुसन्धान थालेको थियो, त्यसबेला उनी नेपालमा थिइनन् । प्रहरीले अनुसन्धान गर्दा उनी चीन पुगेको खुलेको थियो । प्रहरीले अनुसन्धान जारी राखेकै बेला उनले घटनाको सम्बन्धमा आफ्नो धारणा टिकटकमार्फत सार्वजनिक गरिरहेकी थिइन् ।
अनुसन्धानमा सहयोग गर्ने बताए पनि त्यसरी अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सञ्जालमार्फत भ्रम छरेको अनुसन्धान अधिकृतहरूले बताएका थिए । उनले नेपालमा रहेका बेला प्रहरीले आफूलाई नबोलाएको तर विदेश गएपछि पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको भूमिकामाथि समेत प्रश्न गरेकी थिइन् ।
११ फागुन २०८२ मा एसपी गौतम मिश्रले विज्ञप्ति जारी गर्दै ‘सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषण गर्ने जस्ता कार्य’ नगर्न आग्रह गरेका थिए । कानुनअनुसार अनुसन्धान भइरहेको र सम्बन्धित निकायमा उपस्थित भएर भनाइ राख्न विज्ञप्तिमार्फत भनिएको थियो ।
त्यसपछि प्रहरीले उनलाई आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समेत सहयोग लिएको थियो । प्रहरीले उपलब्ध गराएको आधार, प्रमाणका आधारमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । त्यसको आधारमा उनलाई थाइल्याण्डमा ट्रयाक गरेर काठमाडौं ल्याइएको थियो ।
अदालतमा दायर अभियोगपत्रमा अधिकारीले भारत र चीनमा ५३ पटक यात्रा गरेको, चीनमा समेत कारोबार र लगानी सम्बन्धी गतिविधि देखिएको समेत भनिएको छ ।
तुल्सा अधिकारी के भन्छिन् ? प्रहरीको भनाइ के छ ?
आरोपित तुल्साले आफुलाई फसाइएको दाबी गर्दै आएकी छन् । उनको पक्षबाट बहस गरिरहेकी वकिल सीमा धामीले उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा नै लाग्न नसक्ने बताइन् ।
अदालतमा मुद्दा दर्ता हुनुअघि तुल्साले जारी गरेको भिडियोमा चाहिँ उनले आफूलाई पैसाको पहुँचमा पीडा दिइएको दाबी गरेकी थिइन् । ‘पैसाको लागि मलाई त्यस्तो गरेको भन्ने आरोप लगाइयो, अदालतमा पुष्टि भयो भने जुसुकै सजाय भोग्न तयार छु, तर केस अदालत पुग्नुपर्छ,’ उनले भनेकी थिइन्, ‘चिमोरियाले मलाई औषधि खाएर सुत्नुपर्ने बनाएको छ ।’
आफूले झुठो दबाब नदिएको बरु उनले कानुन अनुसार हुने भए अंश दिनुपर्ने उल्लेख गरेकी थिइन् ।
‘त्यो विशुद्ध दुई पक्षको सम्बन्धका आधारमा भएका कारोबारहरू हुन्, सहमतिमा भएका सम्बन्धहरू हुन्,’ उनले कान्तिपुरसँग भनिन्, ‘ती सम्बन्धहरुलाई आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधका कसूर लगाउन मिल्दैन ।’ उनले सम्पत्ति शुद्धीकरणमा सरकारी वकिलले बहस गर्नुपर्ने समेत बताइन् । अहिले जिल्ला अदालत, ललितपुरमा चलिरहेको प्रारम्भिक सुनुवाइ सुनुवाइमा निजी कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्, जसलाई ‘त्रुटिपूर्ण’ भएको भन्दै इजलाससमक्ष समेत प्रश्न उठाएको उनले बताइन् । ‘यो मुद्दा नै खारेज हुनुपर्छ भन्ने हाम्रो तर्क छ,’ उनले भनिन्, ‘दुई पक्षको सम्बन्धको विवादमा ठूलै अपराध गरेझौ राज्य नै लागेर पक्राउ गरेर ल्याउनु गलत भयो ।’
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा किन लगाइयो ?
प्रहरीले अनुसन्धान गरिरहेका बेला अधिकारीको खातामा अस्वभाविक रकम आएको पाइएपछि सम्पत्ति शुद्धीकरणको कसूरमा समेत अनुसन्धान गरिएको बताएको छ । अभियोग पत्रमा चिमोरियाले दिएको जोहरी अनुसारको सम्बद्ध कसुरमा ६ करोड ५२ लाख रुपैयाँ बिगो कायम भएको भन्दै त्यसबाट प्राप्त रकम हुण्डीबाट पठाएर अरु रकमको प्राप्तिमा प्रयोगसहितका कारोबारमा प्रत्यक्ष संलग्नता देखिएको भनिएको छ ।
प्रहरीका अनुसार सन् २०२१ नोभेम्बरदेखि २०२५ नोभेम्बरसम्म विभिन्न समयमा उनको खातामा ती रकम जम्मा भएका छन् । प्रहरीले तुलसा कलेक्सन प्रालि कम्पनी घाटामा रहेको देखिएको भन्दै खातामा २१ करोड ७४ लाख बढीको कारोबार हुनुलाई अस्वभाविक भनेको छ । प्रहरी पाएको विवरणमा वार्षिक १९ लाख रुपैयाँ मात्र कारोबार भएको भनिएको छ ।
‘हुण्डी कारोबार समेतका कसूरबाट आर्जित सम्पत्ति गैरकानुनी स्रोतको रुपान्तरण, हस्तान्तारण तथा कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोबार अधिकार र स्वामित्व बदल्ने एवं लुकाउने लगायतका कार्य गरी जम्मा २१ करोड १२ लाख २० हजार ४ सय रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणको कसूर गरेको पुष्टि हुन आयो,’ अभियोग पत्रमा भनिएको छ । अधिकारीको बैंक खाता, उनको वैदेशिक यात्रा विवरण, कम्पनीको खाता लगायतको जाँचपछि प्रहरीले यो निष्कर्ष निकालेको अभियोग पत्रमा उल्लेख छ ।
उनको मुद्दा कसरी अघि बढ्छ ?
अहिले जिल्ला अदालत, ललितपुरमा अधिकारी प्रतिवादी भएको मुद्दा विचाराधीन छ । थुनछेक बयान जारी छ । अदालतले अभियोजन पक्षका प्रमाण, बयान, बैंक कारोबार, डिजिटल सामग्री, अडियो–भिडियो, आर्थिक कागजात तथा अन्य प्रमाणको प्रारम्भिक परीक्षण गर्नेछ र त्यसपछि धरौटीमा छाड्ने, तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश दिनेछ । पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए उनी कारागारमा बस्नु पर्नेछ ।
सम्बन्धित समाचार
टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर
