सगरमाथामा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका हुन् ।
What you should know
काठमाडौँ —
सगरमाथा आरोहण क्रममा ६ दिन हराएका गाइड दावा शेर्पा भेटिएपछि पर्यटन विभागले घटनाबारे छानबिन गर्ने भएको छ । विभागले हिमालयन ट्राभर्स एडभेन्चर प्रालिका सञ्चालक दावा शेर्पा र आधार शिविरमा रहेका उनका छोरा आङ फुर्वा शेर्पालाई सोधपुछका लागि बोलाउने भएको हो।
ओखलढुंगाका दावा शेर्पा एक अमेरिकी र एक पोलिस नागरिकसहित पाँच सदस्यीय आरोहण दलमा सहभागी थिए। यो आरोहण अनुमति हिमालयन ट्राभर्समार्फत ठमेलस्थित एटकेको नाममा जारी गरिएको थियो। विभागले यस घटनाबारे सोधपुछ गर्न एटकेका सञ्चालकलाई पनि बोलाउने जानकारी दिएको छ। सगरमाथामा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका हुन् ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले भने, ‘यो घटनाको विस्तृत छानबिन गर्छौं। जहाँ कमीकमजोरी देखिन्छ, त्यहाँ कानुन अनुसार कडाइका साथ कारबाही हुन्छ। लापर्बाही देखिए संलग्न कम्पनीलाई कालोसूचीमा राख्ने छौं ।’
यो आरोहणमा रहेका पोलिस आरोही मारियुश च्मिएलेव्स्कीका अनुसार दावा शेर्पा यी पोलिस नागरिकसँगै जेठ १४ गते सगरमाथा आरोहणमा गएका थिए।
आरोही मारियुश च्मिएलेव्स्कीले जेठ १९ गते फेसबुकमा अक्सिजन अभावका कारण आफ्नो टोली ८ हजार ४ सय ५० मिटरबाट फर्किनु परेको र दावा शेर्पा बेपत्ता भएको उल्लेख गर्दै मृत्युको आशंका व्यक्त गरेका थिए। उनका अनुसार जेठ १४ गते शिखरतर्फ अघि बढ्ने क्रममा अक्सिजन प्रणालीमा समस्या आएको थियो र अवस्था नियन्त्रण बाहिर गएको थियो। अत्यधिक जोखिमपूर्ण अवस्था र व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै उनले आरोहण स्थगित गरी फर्किने निर्णय गरेका थिए। उनले अभियान व्यवस्थापन गर्ने एजेन्सीको लापर्बाहीका कारण दुर्घटना भएको आरोप पनि लगाएका थिए।
उनले यो यात्रालाई आफ्नो जीवनकै सबैभन्दा कठिन अनुभवमध्ये एक बताएका थिए। ‘यति छोटो समयमा यति धेरै जीवन र मृत्युका अवस्था मैले कहिल्यै सामना गरेको थिइनँ,’ उनले लेखेका छन्। फर्किने क्रममा टोलीले हिमआँधी, बाक्लो कुहिरो, रातको अत्यन्त कम दृश्यता तथा खुम्बु हिमनदीका जोखिमपूर्ण चिराहरू पार गर्नुपरेको उनले उल्लेख गरेका छन्।
अत्यधिक शारीरिक कठिनाइका कारण उनको दाहिने हातका औंलाहरू सुन्निएको र शरीरका हड्डी तथा जोर्नीहरूमा गम्भीर पीडा भएको पनि उनले लेखेका छन्। आरोहण एजेन्सीका अनुसार उनी ह्याम्स अस्पतालमै उपचाररत छन् ।
यो आरोहण दलका लागि पर्यटन विभागले कम्प्युटर अधिकृत मधुसुदन पुडासैनीलाई सम्पर्क अधिकृत तोकेको थियो। उनले हिमालयन ट्राभर्सका आधार शिविरमा खटिएका आङ फुर्वा शेर्पासँग घटनाबारे विवरण लिइरहेको बताएका छन्। कान्तिपुरको सम्पर्कमा आएका आङ फुर्वा शेर्पाले यो घटनाको सूचना दिन अस्वीकार गरे ।
अनुमति जारी गर्ने एटकेले दावा शेर्पा हराएको जानकारी आङ फुर्वा शेर्पामार्फत ढिलो आएको जनाएको छ। एटकेका एक अधिकारीले भने, ‘दावा हराएको खबर हामीलाई ढिलो दिइयो। छिटो दिएको भए उद्धार छिटो हुन सक्थ्यो।’
जेठ १४ गते सगरमाथा शिखर नजिक पुगेर फर्किएका दावा शेर्पा बिहीबार बिहान सगरमाथा आधारशिविर नजिकै घिस्रिरहेको अवस्थामा फेला परेका थिए। उनलाई त्यहाँ सरसफाइ गरिरहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारले देखेपछि उनी जीवित रहेको खबर फैलिएको थियो।
काठमाडौंबाट लुक्ला पठाइएको अल्टिच्युड एयरको हेलिकप्टरले उनलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरेको क्याप्टेन विवेक खड्काले जानकारी दिएका छन्।
