एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
काठमाडौँ — सगरमाथामा ६ दिनअघि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका छन् ।
एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।
'घिस्रिँदै ओर्लिरहेको अवस्थामा दावा शेर्पा भेटिए, यो आफैंमा आश्चर्यजनक घटना हो,' निर्देशक पेम्बाले बताए । उनका अनुसार शेर्पाका हातका औंलामा हिउँका कारण क्षति पुगेको छ र उनलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
बुधबार काठमाडौंस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो । क्याप्टेन विवेक खड्काका अनुसार हेलिकोप्टरले ५,२०० मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेको थियो । उक्त उद्धार अभियानमा दुई जना सहयोगी पनि संलग्न थिए ।
क्याप्टेन खड्काले लुक्लाबाट दिएको जानकारीअनुसार उद्धार टोली अहिले शेर्पा फेला परेको स्थानतर्फ पुगेर उनलाई आधार शिविर हुँदै काठमाडौं ल्याउने तयारीमा छ ।
प्राप्त विवरणअनुसार, दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ (शुक्रबार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएको उनी आबद्ध हिमालयन ट्राभर्स एडभेन्चर प्रालिले जनाएको थियो ।
यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म ७ जना आरोही तथा गाइडको मृत्यु भइसकेको बताइएको छ ।
