जनताले राज्यको अनुभूति गर्न पाएनन् : सभामुख अर्याल

काभ्रेमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले नागरिकले अझै राज्य र सरकार आफ्नो लागि भएको महसुस गर्न नसकेको बताए ।

जेष्ठ २१, २०८३

ज्योती श्रेष्ठ

People did not get to experience the state: Speaker Aryal

What you should know

काभ्रे — सभामुख डोलप्रसाद अर्यालले जनताले अझै पनि राज्य र सरकार आफ्नो लागि भएको अनुभूति गर्न नपाएको बताएका छन् । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बिहीबार धुलिखेलमा आयोजना गरेको नवौं जिल्ला सभालाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । उनले संविधान जारी भएको लामो समय बितिसक्दा पनि आवश्यक कानुन निर्माण हुन नसकेको, नागरिकले सहज रूपमा न्याय प्राप्त गर्न नसकेको तथा राज्यप्रति अपनत्वको भावना पर्याप्त रूपमा विकास हुन नसकेको बताए ।

उनले अब आवश्यकता र जनचाहनाका आधारमा कानुन निर्माण गरिने तथा समयानुकूल संविधान संशोधन प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा राखे । 'नयाँ पुस्ताको भावना, समाजको बदलिँदो अवस्था र देशको आवश्यकतालाई सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य छ,' उनले भने ।

सभामुख अर्यालले संविधान संशोधनजस्तो विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन साझा समझदारी र सहकार्य अपरिहार्य रहेको बताए ।

उनले आगामी दिनमा जनताले राज्य र सरकार आफ्नै लागि रहेको अनुभूति गर्ने वातावरण निर्माण गरिने दाबी गरे । साथै कर्मचारीहरूले पनि आत्मसम्मानका साथ काम गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सभामुख अर्यालले हालको अवस्थामा जिल्ला समन्वय समितिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । जिल्ला समन्वय समितिको आवश्यकता, अधिकार र भविष्यबारे भने संविधान संशोधनका क्रममा व्यापक छलफल हुने उनले प्रस्ट पारे ।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully