कोरला नाका हुँदै भित्रिएका ७ सय ७५ विद्युतीय सवारी नियन्त्रणमा

कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गरी बुधबार रातीदेखि बिहीबार बिहानसम्मको अवधिमा यी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

जेष्ठ २१, २०८३

मातृका दाहाल

775 electric vehicles entering through Korala border checkpoint under control

काठमाडौँ — नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय  ७५ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएको छ । 

कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गरी बुधबार रातीदेखि बिहीबार बिहानसम्मको अवधिमा यी गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बजेटमा विद्युतीय सवारीसाधनमा करको दर हेरफेर भएको सूचना लिक भएको आशंकामा थप छानबिनका लागि सवारी साधन नियन्त्रणमा लिइएको एक सरकारी अधिकारीले बताए ।

भन्सारका कर्मचारी, भन्सार एजेन्ट र व्यापारीको मिलेमतोमा बजेट वक्तव्य अगावै गाडी जाँचपास गरेर छिराइएको सूचनापछि त्यस्ता गाडीको खोजबिनमा सरकारी संयन्त्रलाई परिचालन गरिएको थियो । 

सरकारले आव २०८३/८४ को बजेटमा विद्युतीय सवारीमा करको दर हेरफेर गरेको थियो । त्यसअगावै ठूलो संख्यामा विभिन्न नाकाबाट त्यस्ता सवारीहरु भित्रिएका थिए । 

कोरला नाकाबाट भित्र्याइएका यी गाडी विभिन्न जिल्ला लैजान लागिएको र उक्त सूचनापछि सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

सशस्त्र प्रहरीको टोलीलाई रातभर कोरला नाकाबाट आउने सडक खण्डमा चेकिङमा खटाइएको र त्यसक्रममा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रधान कार्यालयका एक अधिकृतले पनि पुष्टि गरे । 

बरामद गाडी नम्बर प्लेट नहालिएका हुन् । सबै गाडी भन्सारलाई जिम्मा लगाउने तयारी भइरहेको एक अधिकारीले जानकारी दिए । 

सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय गण्डकीका प्रमुख डीआईजी दीपेन्द्र शाहले नियन्त्रणमा लिइएका गाडीबारे छानबिन भइरहेको र त्यसपछि भन्सारलाई जिम्मा लगाइने बताए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully