महिला लक्षित ‘ब्लु बस’ सञ्चालनको तयारी, मोडालिटी बनाउन सरकारी गृहकार्य

‘ब्लु बस’ सञ्चालनको जिम्मेवारी, रुट, खर्च व्यवस्थापन, यात्रु संख्या तथा सञ्चालन कार्यविधिबारे अध्ययन भइरहेको सरोकारवाला निकायहरूले बताएका छन् ।

जेष्ठ २०, २०८३

प्रकृति दाहाल

Preparations for women-targeted 'Blue Bus' operation, government homework to create modality

What you should know

काठमाडौँ — सरकारले महिलालाई लक्षित गर्दै ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी थालेको छ । आर्थिक वर्ष ०८३/0८४ को बजेटमार्फत घोषणा गरिएको उक्त सेवा सञ्चालनका लागि यातायात व्यवस्था विभाग र साझा यातायातले कार्यविधि निर्माणको गृहकार्य गरिरहेका छन् । सेवा सञ्चालनको जिम्मेवारी, रुट, खर्च व्यवस्थापन, यात्रु संख्या तथा सञ्चालन कार्यविधिबारे अध्ययन भइरहेको सरोकारवाला निकायहरूले बताएका छन् ।

सरकारले १३ चैत २०८२ मा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ‘ब्लु बस’ सेवा समावेश गरेको थियो । सोही कार्यसूचीअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लु बस’ सेवा सञ्चालन गरिने घोषणा गरेका छन् । त्यसका लागि बजेट छुट्टाइएको सरकारले बताएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले ‘ब्लु बस’ सञ्चालनका लागि सरकारले बजेट छुट्याएको र तयारी थालिएको बताए । उनले भने, ‘कुन कार्यविधिमा सञ्चालन गर्ने, कसरी सञ्चालन गर्ने र कसले सञ्चालन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभाग र साझा यातायातबीच गृहकार्य भइरहेको छ ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईले ‘ब्लु बस’ सेवा सञ्चालनका विभिन्न पक्षमाथि अध्ययन भइरहेको बताए । उनका अनुसार सञ्चालन खर्च, सम्भावित रुट, यात्रुको संख्या, व्यवस्थापन प्रक्रिया तथा सेवा सञ्चालन गर्ने निकायबारे अध्ययन भइरहेको छ । उनले भने, ‘ब्लु बस सञ्चालनको समन्वय गर्ने जिम्मेवारी विभागलाई दिइएको छ । तर विभागसँग आफ्नै सवारी साधन छैन । त्यसैले सञ्चालनका लागि साझा यातायातसँग सहकार्यको गृहकार्य अगााडि बढेको छ । ’ सरकारको १०० दिनको कार्यसूचीमा उल्लेख गरे पनि तत्काल सञ्चालनमा ल्याउन नसकिएको र त्यसको लागि अध्ययन गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले महिलाका लागि निःशुल्क सेवा दिने घोषणाका कारण तत्काल निजी क्षेत्रसँग सहकार्य गर्न सम्भव नभएकाले सरकारी यातायातसँग छलफल भइरहेको जानकारी दिए । 

उनले साझा यातायातलाई प्रारम्भिक प्रस्ताव पठाइएको र त्यसका आधारमा संस्थाले कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गरिरहेको बताए । संविधानअनुसार यातायातको रुट निर्धारण गर्ने जिम्मेवारी प्रदेशमा भएकाले यसका लागि बागमती प्रदेशसँग पनि समन्वय भइरहेको उनको भनाइ छ । 

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्याल सेवा सञ्चालनसम्बन्धी प्रारम्भिक मस्यौदा तयार भइसकेको बताउँछन् । उनले बस सेवा सञ्चालन गर्न भन्दा पनि त्यसको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्नु महत्त्वपूर्ण विषय भएको जनाए । उनी भन्छन्, ‘बस सञ्चालन गर्नु ठूलो कुरा होइन तर सञ्चालनपछि त्यसलाई कसरी टिकाइराख्ने भन्ने महत्त्वपूर्ण छ । यसका लागि यात्रु संख्या, रुटको आवश्यकता, सञ्चालन खर्च तथा बजेट व्यवस्थापनका विषयमा छलफल भइरहेको छ ।’ महिलाका लागि निःशुल्क सेवा दिने हो भने सञ्चालन खर्चको स्रोत स्पष्ट हुनुपर्ने उनको तर्क छ । 

बस सञ्चालन गर्न इन्धन, चालक, सहचालक, मर्मतसम्भार र प्रशासनिक खर्च लाग्ने भएकाले बजेट आवश्यक हुने बताए । सरकारले छुट्याउने बजेट कुन निकायमार्फत आउने, कसरी खर्च हुने भनेर खर्च व्यवस्थापन र निश्चित कार्यविधिको आवश्यक रहेको उनले बताए । 

महिलामात्र चढ्न पाउने व्यवस्था कार्यान्वयनका क्रममा विभिन्न व्यवहारिक समस्या आउन सक्ने उनको भनाइ छ । एउटै परिवारका सदस्यसँगै यात्रा गरिरहेका हुन सक्ने बताउँदै उनी भन्छन्, ‘श्रीमान्-श्रीमती सँगै आउलान्, श्रीमती मात्रै चढ्न मिल्ने बसमा कसरी यात्रा गर्छन् ? सरकारले घोषणा गरे पनि व्यवहारिक चुनौती भने देखिन्छन् ।’ 

बस सञ्चालनमा आए पनि सबै महिलाले सेवा उपयोग गर्न नसक्ने र सबै क्षेत्रका महिलालाई सेवा दिन नसकिने उनको भनाइ छ । उनले तत्काल सबै प्रदेशमा सुरु गर्नुभन्दा काठमाडौंमा परीक्षणमा सञ्चालनमा ल्याउने सरकारी तयारी रहेको जानकारी दिए । उनले भने, ‘सरकारको घोषणाअनुसार सेवा दिने योजना छ तर पाइलट परियोजनाका रूपमा केही समय सञ्चालन गरेर त्यसको प्रभावकारिता मूल्यांकन गरेर थप योजना बन्नेछ । ’

महिलालाई लक्षित ‘ब्लु बस’को अवधारणा पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघि सारेका थिए । उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा २०८० साउनमा उक्त सेवा सुरु गरिएको थियो । कालिका नगरपालिका हुँदै भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालन गरिएको उक्त सेवा महिलाका लागि निःशुल्क थियो । निलो रङका बसमार्फत सेवा सञ्चालन गरिएकाले त्यसलाई ‘ब्लु बस’ नाम दिइएको थियो । लामिछाने आफैंले बसमा चढेर सेवाको उद्घाटन गरेको बस पनि करिब डेढ महिनापछि बन्द भयो । त्यतिबेला सेवा सञ्चालनमा यात्रु संख्या, सञ्चालन खर्च तथा व्यवस्थापनसँग सम्बन्धित समस्या देखिएको थियो । सेवा बन्द भएपछि त्यसको प्रभावकारितामाथि प्रश्न उठेको थियो । अहिले दुईतिहाईको सरकार रहेको रास्वपाले सरकारी योजनाको रुपमा अगाडि बढाएको छ । 

सरकारको अव्यवहारिक योजना : सिटौला

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले अघि सारेको योजना व्यवहारिक नभएको बताए । लक्षित वर्गलाई छुट्टै बस सेवा दिन व्यवहारिक कठिनाई रहेको उनी बताउँछन् । उनले भने, ‘महिलाका लागि ब्लु बस, ज्येष्ठ नागरिकलाई व्हाइट होला, बच्चालाई पहेँलो होला, मानिस नै पिच्छे आवश्यक होला नि ! धेरै पपुलारिटी भयो कि ?’ उनका अनुसार विगतमा काठमाडौं उपत्यकामा महिला सवारी साधन सञ्चालनको प्रयास गरिए पनि दीर्घकालीन नभएको उनको भनाइ छ । करिब ५ वर्षअघि काठमाडौंमा कलंकीदेखि काँडाघारीसम्म महिलामात्र चढ्न मिल्ने सवारी सञ्चालन गरिएको थियो । तर, महिला नआउँदा बस रोक्नु पर्ने, एउटै रुटमा महिला नपुग्ने, महिलामात्र यात्रु हुने सवारीमा सञ्चालन खर्च उठाउन कठिन भएकाले बन्द गर्नुपरेको उनले सुनाए । 

महिला अधिकारकर्मी सरिता तिवारीले पहिलोपटक पूर्वी चितवनको कालिका क्षेत्र जंगल नजिकको बस्ती भएकाले त्यहाँका महिलालाई भरतपुर आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालन गरिएको भए पनि व्यवहारमा अपेक्षित सफलता प्राप्त गर्न नसकेको बताइन् । 

उनले भनिन्, ‘महिला मात्रै घरबाट बाहिर निस्कने अवस्था हुँदैन, उनीहरूसँग श्रीमान्, दाजुभाई वा अन्य परिवारका सदस्य पनि हुन्छन् । सकारात्मक विभेदको दृष्टिकोणबाट हेर्दा राम्रो देखिए पनि व्यवहारिक रूपमा यो अवधारणा सफल हुन सकेन ।’ उनले अहिलेको समाज समावेशी अभ्यासतर्फ अघि बढिरहेकाले महिला र पुरुषबीच सहअस्तित्व, समान अवसर र सम्मानजनक व्यवहारको विकास हुनुपर्ने बताइन् ।

सार्वजनिक यातायातमा महिलाले अझै पनि विभिन्न असहजता र असुरक्षाको सामना गर्नुपरेको बताउँदै उनले त्यसको समाधान छुट्टै बस सञ्चालन गर्नुभन्दा सम्पूर्ण सार्वजनिक यातायातलाई महिलामैत्री र सम्मानजनक बनाउनुमा रहेको बताइन् । उनले भनिन्, ‘महिलाले सुरक्षित र सम्मानजनक रूपमा यात्रा गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ, छुट्टै बस सञ्चालन गर्ने अवधारणा व्यवहारिक देखिँदैन र यो दीर्घकालीन रूपमा टिक्न सक्नेमा पनि मलाई विश्वास लाग्दैन ।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully