मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैदको फैसला 

विशेष अदालतले मंगलबार सिंहलाई दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १ सय रुपैयाँ बराबर बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ।

जेष्ठ २०, २०८३

दुर्गा दुलाल

Madhesh Province MP Saroj Kumar Singh sentenced to 4 years in prison in corruption case

What you should know

काठमाडौं — मधेश प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सिंहलाई दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १००  रुपैयाँ बराबर बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ। 

विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो । अदालतले १ लाख ५४ हजार क्षतिपूर्तिबापत शुल्क भराउने फैसला समेत गरेको छ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेश प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध २०८२ असोज ३० गते  भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मधेश प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।  

मधेश प्रदेश सभा सदस्य सिंहसमेतले विभिन्न वडामा विकास योजनाहरू सञ्चालनका लागि विभिन्न उपभोक्ता समितिहरू गठन गरी उक्त उपभोक्ता समितिको खाताहरूमा जम्मा/दाखिला भएको रकममध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकि/झिक्न लगाइ उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको अभियोगमा उल्लेख छ । 

जेठ ४ गते सिंहलाई दोषी ठहर गरेको विशेषले आज सजाय निर्धारणको फैसला सुनाएको हो । अख्तियारले सिंहसहित  रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी भन्ने स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्र  महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई मुद्दामा प्रतिवादी बनाइएको थियो । 

माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिमार्फत भएको काममा सिंहले घुस मागेका थिए । 

आयोगले रधवा पिपलदेखि सहसौला अनेरभाटसम्म, जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म बाटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जुदेवी पासमानसँग घुस लिएका थिए ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully