सीआईबीको टोलीले ओमप्रसाद पाण्डेलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
काठमाडौँ — प्रहरीले राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले बताए । पाण्डे जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन् । कलेजको वेबसाइटमा उल्लेख भए अनुसार, यो मेडिकल कलेजलाई जानकरी हेल्थ फाउन्डेसनले चलाउँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यो मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो ।
उच्च अदालत पाटनबाट प्रहरीले २८ मंसिरमा पाण्डेलाई पक्राउ गर्न अनुमति लिएको थियो ।
‘उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइसेन्स प्रालि नामक कृत्रिम व्यवसाय खडा गरेर डीपीआरबिनै, धितोको अस्वाभाविक रुपमा बढी मूल्यांकन गराएर कर्जा लिएको देखिएको छ,’ श्रेष्ठले भने, ‘प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, त्यसमा नलिई अन्यत्र प्रयोग गरेर पटकपटक कर्जा दुरुपायेग गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्नता देखिएकाले अनुसन्धान थालेका छौं ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
