पश्चिमी वायु कमजोर, तराईमा तातो बढ्दै

मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जेष्ठ १९, २०८३

फणीन्द्र संगम

Weaker westerly winds, heat rising in the Terai

काठमाडौँ — पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएसँगै गर्मी बढेको छ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती स्थानमा आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध छ ।

अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायु सक्रिय बन्दा केही दिनअघिसम्म दिनहुँजसो देशमा विभिन्न ठाउँमा पानी परिरहेको थियो ।

अहिले पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले दुई-तीन दिन ठूलो वर्षाको सम्भावना नरहेको विभागको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । भोलि-पर्सिसम्मलाई खण्डित रुपमा केही ठाउँमा भने वर्षा हुन सक्ने उनको भनाइ छ ।

विभागका अनुसार आज हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र सुदुरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना पनि रहेको छ ।

विभागले आज दिउँसो सिमरामा अधिकताम तापक्रम ३६-३८ तथा विराटनगर र जनकपुरमा ३७-३९ डिग्री सेल्लियस हुने अनुमान गरेको छ ।

जलवायु विज्ञ धर्मराज उप्रेतीले तराईमा पुनः प्रिमनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम- गर्मी बढी हुने सम्भावना रहेको उल्लेख गरेका छन् । 'यसबाट विद्यालय, कृषि कार्यमा संलग्न व्यक्तिहरु, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदुरहरु प्रभावित हुन्छन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

फणीन्द्र फिचर र साहित्य लेखनमा सक्रिय संगम ईकान्तिपुरमा कार्यरत छन् । उनी डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् ।

Link copied successfully