साउदी अरबका राजपरिवारका सदस्य तथा सगरमाथा आरोही राजकुमार फैसल बिन फहद बिन एम. बिन अब्दुलअजिज अल सउदले जेठ १३ गते सगरमाथा आरोहण गरेका थिए ।
What you should know
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले साउदी अरबका राजपरिवारका सदस्य तथा सगरमाथा आरोही राजकुमार फैसल बिन फहद बिन एम. बिन अब्दुलअजिज अल सउदलाई सगरमाथा आरोहणको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
मन्त्रालयमा सोमबार साँझ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजकुमारलाई बधाई दिँदै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा प्रमाणपत्र प्रदान गरेका हुन् । यस सिजनका विशिष्ट (भीभीआईपी) आरोहीमध्येका एक राजकुमारलाई मन्त्रालयका तर्फबाट विशेष रूपमा प्रमाणपत्र हस्तान्तरण गरेको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताए ।
सगरमाथासहित नेपालका हिमालहरू आरोहण गर्ने आरोहीलाई भने पर्यटन विभागले आधिकारिक प्रमाणपत्र दिने गर्छ । राजकुमारलाई भने उक्त प्रमाणपत्र मन्त्री पौडेलले हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा, नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. अल मनिखेरलगायतको उपस्थिति थियो । प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा र साउदी राजकुमारले एकै दिन सगरमाथा आरोहण गरेका हुन् ।
राजकुमार फैसल यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानमा सहभागी भएका थिए । उनको आरोहण व्यवस्थापन एलिट एक्स्पीड कम्पनीले गरेको थियो । जसमा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाको समेत साझेदारी रहेको छ । राजकुमारका व्यक्तिगत पर्वतारोहण गाइड पेम छिरी शेर्पा थिए ।
राजकुमार फैसलले जेठ १३ गते सगरमाथा आरोहण गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने कम उमेरका अरब आरोहीहरूमध्ये एक मानिन्छन् । एलिट एक्स्पीडका संस्थापक निर्मल पुर्जाको नेतृत्वमा रहेको विशेष भीआईपी टोलीसँगै उनले शिखर चुमेका थिए ।
मन्त्रीसँग भेटका क्रममा राजकुमारले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण तथा नेपाली जनताको आतिथ्यप्रति प्रशंसा व्यक्त गर्दै नेपाल भ्रमणको अनुभव अविस्मरणीय रहेको बताएका थिए ।
