गत वैशाख ९ गते गुरूङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए।
काठमाडौँ — सरकारले पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठन भएको समितिको म्याद पाँच दिन थप गरेको छ । गुरुङ विषयमा आएका सार्वजनिक विषय, सेयर लगानी र सम्पत्तिको स्रोतमाथि छानबिन गर्न बनेको समितिलाई समय सोमबारसम्म थियो । समितिकै अनुरोधमा पाँच दिन थप गरिएको एक सदस्यले बताए ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागू हुने गरी थप पाँच दिनको समय थप भएको अच्युतमणि नेउपानले बताए । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य छन्।
सदस्य नेउपानेले सुधन गुरूङको बयान र तथ्य अध्ययनलगायतका काम सकिएको र तथ्यको विश्लेषण गर्दै प्रतिवेदन लेखनका लागि समय नपुग्ने भएपछि समय मागिएको उनले बताए ।
वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। यस समितिलाई १५ दिनको समय दिइएको थियो।
गत वैशाख ९ गते गुरूङले आफूमाथि प्रश्न उठेको भन्दै पदबाट राजीनामा दिएका थिए। सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारी देखिएपछि विवादमा परेका थिए ।
