भाजपाका नेताहरूसँग मंगलबार पार्टी कार्यालयमा भेटघाट तथा अन्तर्क्रिया।
What you should know
काठमाडौँ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार अपराह्न दिल्ली पुगेका छन् । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन् ।
लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापासहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा थिए । भ्रमण टोलीमा पार्टी लामिछाने पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।
रास्वपा र भाजपाबीच दलगत सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ । सभापति लामिछानेले दिल्लीको दिनदयाल मार्गस्थित भाजपा मुख्यालमा मंगलबार भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीहरूसँग भेट्ने कार्यक्रम छ । लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै सुरु हुनेछ । लामिछाने नेतृत्वको टोलीले बिहान १० बजेदेखि अपराहनसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ । त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय, विभागलगायतका विषयमा रास्वपा टोलीसमक्ष प्रस्तुति दिनेछ । पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेशमन्त्री एस.जयशंकरबीच भेट हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट्नेछन् ।
यद्यपि रास्वपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनीतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को–कोसँग हुनेबारे खुलाइएको छैन । भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता हुने उल्लेख भए पनि को–कोसँग भेट हुने खुलाइएको छैन । त्यस्तै, रास्वपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने मात्रै उल्लेख गरेको छ । सरकारी अधिकारीहरूसँगको भेटवार्तामा दिल्लीस्थित नेपाली दूतावासका अधिकारीसमेत सहभागी रहने दूतावास स्रोतले जनाएको छ । होटलमा हुने वा पार्टी कार्यालयमा हुने भेटघाटहरूमा भने दूतावासका अधिकारीको सहभागिता रहने छैन ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट झन्डै दुईतिहाइ सिट जितेर रास्वपाले सरकार बनाएको दुई महिनापछि सभापति लामिछाने भारत भ्रमणमा गएका हुन् । सीमाको विषयका कारण नेपाल–भारतबीच अविश्वास बढिरहेको पृष्ठभूमिमा
भइरहेको लामिछानेको भारत भ्रमणलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । लामिछानेको भ्रमणका क्रममा उच्च राजनीतिक तहमा हुने भेटवार्ताहरूले दुई देशका बीचमा रहेका कतिपय मुद्दामा सहजीकरण हुने अपेक्षित छ । सभापति लामिछाने बिहीबार प्रवासी नेपालीहरूको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी अयोध्या जाने कार्यक्रम छ ।
