सार्वजनिक यातायातको भीडभित्रै हराउँछन् महिलामाथि हुने दुर्व्यवहारका पीडा

सार्वजनिक सवारीमा महिलाहरूले बारम्बार दुर्व्यवहार भोगिरहेका छन्, तर सामाजिक मौनता, कानुनी झमेला र 'भिक्टिम ब्लेमिङ' का कारण धेरैजसो घटनामा उजुरी नै आउँदैन ।

जेष्ठ १८, २०८३

आरती पौडेल

The pain of abuse against women disappears in the crowded public transportation.

What you should know

काठमाडौँ — एक युवतीले केही समय अगाडि सार्वजनिक यातायातमा दुर्व्यवहार खेप्नु परेको भिडियोमार्फत बताएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा रह्‍यो । 

कलेजबाट फर्किंदा आफूले दुर्व्यवहार खेप्नु परेको उनले बताएकी थिइन् । ‘मलाई छाती काटेर फाल्न मन लागेको छ,’ दुर्व्यवहारपछि उनले भिडियोमा भनेकी छिन् । छेउमै बसेको एक पुरुषले आफ्नो शरीरमा हात राखेको र सुम्सुम्याएको उनले बताएकी थिइन् । 

सुरूमा उनले थाहै पाइनन् । तर पछि थाहा पाएर पुरुषलाई खबरदारी गर्न खोज्दा उल्टै नराम्रो व्यवहार गरेको उनको भनाइ छ । माइक्रो बसमा यात्रुहरू धेरै थिए, तर उनले आफूमाथि गलत व्यवहार भयो भन्दाचाहिँ उनीहरूले सुनिरहे मात्र । 

सार्वजनिक यातायात चढ्ने धेरै महिलाले आफूहरू दुर्व्यवहारमा पर्ने गरेको बताउँछन् । चन्दाकुमारी चौधरी जन्मजात नै दृष्टिविहीन हुन् । उनी ५ वर्षदेखि काठमाडौं बस्दै आएकी छिन् । चन्दाले एक वर्ष अगाडि सार्वजनिक यातायातमा आफूले भोगेको पीडाले गर्दा अहिले एक्लै सार्वजनिक सवारी चढ्न छाडेको सुनाउँछिन् । ‘त्यो घटना सम्झेर अहिले पनि डर लाग्छ । त्यो दिनदेखि साथीबिना माइक्रो चढेर कतै जाँदिनँ,’ उनले भनिन् । 

त्यो दुर्व्यवहारबारे उनी सुनाउँछिन्, ‘एक्लै माइक्रोमा हिँडेकी थिए । अपांगता बस्ने सिटमा नै थिएँ । आँखा नदेखेपनि मान्छेले कुन तरिकाले छोयो भन्ने महसुस हामीलाई हुन्छ । एक जना पुरुषले आफू पनि अपांग भएको भन्दै हाँसो गरिरहेको थियो,’ उनले भनिन्,‘त्यसलाई सामान्य लिएँ । पछि मेरो हात छुने,समात्ने गरेपछि मलाई नराम्रो लाग्यो र दुई झापड लाइदिएँ ।’ 

चन्दाले आफूमाथि दुर्व्यवहार भएको अरू यात्रुलाई सुनाइन् । त्यसपछि भने त्यो व्यक्तिलाई माइक्रोबाट निकालिएको थियो । ‘एक्कासि नराम्रो नियतले छोयो । पछि त डर लागेर के गर्नुपर्छ भन्ने नै होस नहुने रहेछ,’ उनले भनिन् । अगरबत्ती बेच्दै गुजारा चलाउने चन्दा अहिले भने साथीबिना हिँड्दिनन् । 

सार्वजनिक यातायातमा दुर्व्यवहार भोगे पनि कानुनी झमेलामा परिने सोचले पनि धेरै जना उजुरी हाल्न हच्किन्छन् । केही महिना अगाडिको कुरा हो । बानेश्वरबाट भक्तपुर जाने माइक्रोमा चढेकी पार्वती साउद सिटमा बसिरहेकी थिइन् । त्यही सिट छेउमै एक पुरुष आएर बसे । 

साउद मोबाइल चलाएर बसिरहेकी थिइन् । ती पुरुषले उनलाई घुरेर हेरिरहे । केहीबेर उनले बेवास्ता पनि गरिन् । ‘सुरूमा मलाई त्यस्तो लागेको होला सोचेर मतलब गरिनँ । तर पछि मलाई हेर्दै हाँसिरहेको र इसारा गरिरहेको देखेँ,’ उनले भनिन्,‘त्यसपछि त आफ्नो कुइनोले मलाई हान्न थाल्यो । मलाई रिस उठ्यो । के गरेको दाइ भनेर गाली गरेँ । त्यसको केही समयपछि एउटा ठाउँमा झर्‍यो ।’ उनले पछि मात्र प्रहरीमा उजुरी गर्नुपर्ने रहेछ भन्ने थाहा पाइन् । 

यी त महिलाले सार्वजनिक यातायातमा भोग्दै आएका प्रतिनिधि घटना मात्र हुन् ।  महिलाहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रहरीले  सार्वजनिक यातायातमा सेफ्टी पिन क्याम्पेन चलाएको थियो । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा १ हजार ६ सय ७३ जना व्यक्ति विभिन्न किसिमका दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए । जसमा ४ जना शारीरिक यौनजन्य दुर्व्यवहारमा पक्राउ परेका थिए भने, ३ जना अश्लील हर्कतसम्बन्धी आरोपमा पक्राउ परेका थिए । उनीहरूमध्ये ७२ जनालाई मुद्दा चलाइएको थियो भने १६ सय १ जनालाई सम्झाइबुझाई गरी आफन्तको जिम्मा लगाइएको थियो ।

The pain of abuse against women disappears in the crowded public transportation.

आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४ हजार १ सय ३३ जना दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । ४३ जनालाई अश्लील हर्कत गरेको कारण पक्राउ गरिएको थियो भने ३२ जनालाई सार्वजनिक यातायातमा अपशब्द, अश्लील गालीगलौच गरेको कारण र  १६ जनालाई शारीरिक यौनजन्य दुर्व्यवहार गरेको कारण पक्राउ गरिएको थियो ।  उनीहरूमध्ये १ सय ९९ जनालाई मुद्दा चलाइएको थियो भने ३ हजार ९ सय ४३ जनालाई सम्झाइबुझाई गरी परिवारको जिम्मा लगाइएको तथ्यांकमा उल्लेख गरिएको छ ।

सार्वजनिक यातायातमा दुर्व्यवहारका घटना भई नै रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी प्रविण धिताल बताउँछन् । ‘अहिले संख्याका आधारमा भन्ने हो भने घटेको छ तर सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार भई नै रहेका छन्,’ एसपी धितालले भने । 

पुरुषको तुलनामा सार्वजनिक यातायातमा महिलाहरू नै धेरै पीडित हुने उनले बताए । दुर्व्यवहारमा परेको देखेपछि अरूले पनि रोक्न प्रयास गर्नुपर्ने उनको भनाइ छ । यस्ताखाले दुर्व्यवहार रोक्न नागरिक स्तरबाटै विशेष भूमिका खेल्नुपर्ने एसपी धितालको भनाइ छ । 

‘सबैभन्दा ठूलो समस्या भनेको गलत देख्दा पनि समाज मौन बस्ने प्रवृत्ति हो । बस वा सार्वजनिक ठाउँमा दुर्व्यवहार हुँदा गलत भयो भनेर पीडितले सहयोग माग्दासमेत अन्य मानिसले सहयोग गदैनन्,’ उनले भने,‘महिलालाई नै गल्ती देखाउने भएपछि आफ्नो समस्या खुलेर भन्न र रिपोर्ट गर्न पनि डर मान्ने गरेको देखिन्छ ।’

दुर्व्यवहारका घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातहरूमा सीसी क्यामेरा जडान भइरहेको र त्यसले ठूलो राहत गर्ने उनको भनाइ छ ।  सार्वजनिक स्थानमा हुने दुर्व्यवहारका घटना न्यूनीकरण गर्न अहिले नेपाल प्रहरीले विभिन्न सार्वजनिक सचेतना र रिपोर्टिङ प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको धिताल बताउँछन् । ‘अहिले अनलाइनमार्फत धेरै उजुरी आउने गरेका छन्,’ उनले भने,‘घटनासँग सम्बन्धित भिडियो, अडियो वा फोटो प्रमाणसहित आउने भएकाले प्रहरीलाई छानबिन र कारबाही प्रक्रिया अघि बढाउन पनि सहज भएको छ ।’

तर प्रहरीसम्म पुगेको उजुरीलाई मात्रै दुर्व्यवहारमा परेको आधिकारिक संख्या भन्न नमिल्ने सरोकारवालाहरूको भनाइ छ । काठमाडौं उपत्यकामा मात्र न्यून संख्यामा घटनाबारे रिपोर्टमा आउने उनीहरूको भनाइ छ ।

सार्वजनिक यातायातमा हुने अत्यधिक भीडभाड, सामाजिक सचेतनाको कमी र ‘ह्यारेसमेन्ट’ लाई सामान्य रूपमा लिने प्रवृत्तिका कारण महिलामाथि दुर्व्यवहारका घटना बढिरहेको समाजशास्त्री सम्झना वाग्ले भट्टराई बताउँछिन् । ‘सार्वजनिक यातायातमा मानिसहरूको भीड धेरै हुने भएकाले कतिपयले त्यसको फाइदा उठाउने गरेका छन्,’ उनले भनिन्,‘जहाँ पीडितलाई कसैले नोटिस नगर्ने र यस्तो भयो भन्दा मानसिकताले बेवास्ता गर्नाले दुर्व्यवहारलाई झन् बढावा दिएको छ ।’

सार्वजनिक यातायात तथा अन्य सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा र छेडछाडका घटनापछि पीडितमा मानसिक असर पर्ने मनोचिकित्सक ऋचा अमात्य बताउँछिन् । ‘सार्वजनिक स्थलमा हुने दुर्व्यवहारका कारण केही पीडितमा डर, तनाव, 'सेल्फ ब्लेम', र सामाजिक जीवनमा असहजता देखिन सक्छ,’ उनले भनिन्,‘यस्ता घटनापछि केहीलाई तत्काल प्रतिक्रिया दिन नसक्ने अवस्थामा देखिन्छन् । पछि मात्र घटनाबारे बुझ्ने र त्यसको असर महसुस गर्ने अवस्था आउँछ ।’

समाजमा हुने ‘भिक्टिम ब्लेमिङ’ का कारण थप मानसिक दबाब सिर्जना हुने ऋचा बताउँछिन् । ‘यसले गर्दा धेरैजना घटना खुलेर भन्न नसक्ने, लाज र डरका कारण मौन बस्ने अवस्था सिर्जना हुन्छ,’ उनले भनिन्,‘कतिपय अवस्थामा सार्वजनिक यातायात प्रयोग गर्न डर लाग्ने, पुराना घटनाको सम्झनाले बारम्बार मानसिक तनाव आउने समस्यासमेत देखिन सक्छ ।’

सार्वजनिक यातायातमा मात्र नभई सार्वजनिक क्षेत्रमा हुने प्रत्यक्ष वा अप्रत्यक्ष हिंसाविरुद्ध विशेष कानुन आवश्यक रहेको अधिवक्ता ईश्वरी पौडेल बताउँछिन् । 

‘सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी विशेष कानुनी व्यवस्था भएको पाइँदैन,’ उनले भनिन्,‘नेपालको संविधान २०७२ को धारा ३८ (३) मा महिलामाथि कुनै पनि आधारमा शारीरिक, मानसिक हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने व्यवस्था छ ।’

मुलुकी अपराध संहिता-२०७४ को दफा २२४ को उपदफा १ र २ मा यौन दुर्व्यवहार गर्न नहुने उल्लेख छ । त्यस्तो कसुर गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था भए पनि विशेष कानुनको अभावमा पीडितलाई न्याय र पीडकमाथि सजाय हुन नसकेको अधिवक्ता पौडेलको भनाइ छ । ‘कानुन निर्माणको पाटो एकातर्फ हो भने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु नराख्ने, सबै सार्वजनिक यातायातहरूमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्दा दुर्व्यवहार न्यूनीकरण हुन सक्छ,’ उनले भनिन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully