छानबिन समितिले निर्वाचन आयोगमा र गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा फरक परेको हो कि हैन ? सम्पत्तिको स्रोत के हो ? 'हामी नेपाल'को नाममा आएको सहयोग निजी बैंक खातामा जम्मा गरेको आरोप सत्य हो कि हैन ? लगायतका प्रश्न सोधेको छ ।
काठमाडौँ — पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठन भएको समितिले अनुसन्धान र बयान सकेको छ ।
वैशाख २८ गते गठन भएको समितिले गत शुक्रबार गुरुङको बयान लिएको थियो । ‘उनको बयान सम्पन्न भयो र हामीले उनीसँग सरोकार राख्ने सबै विवरण अध्ययन गरेका सकेका छौं,’ एक सदस्यले भने, ‘अब प्रतिवेदन लेख्नतिर लागेको छौँ । केही दिनभित्रै प्रतिवेदन बुझाउने कोसिसमा छौं ।’
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो । समितिले गुरुङको सम्पत्ति र उनले तिरेको करसहित अन्य विवरण अध्ययन गरेको थियो ।
समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।
बयानका क्रममा गुरुङसँग समितिले निर्वाचन आयोगमा र गृहमन्त्री हुँदा पेस गरेको सम्पत्ति विवरणमा फरक परेको हो कि हैन ? सम्पत्तिको स्रोत के हो ? हामी नेपालको नाममा आएको सहयोग निजी बैंक खातामा जम्मा गरेको आरोप सत्य हो कि हैन ? लगायतका प्रश्न सोधेको थियो ।
समितिले सोधेका सबै प्रश्नको उत्तर गुरुङले दिएको र अरु तथ्य समितिले विश्लेषण गरेर प्रतिवेदनमा लेख्ने ती सदस्यले बताए । समितिले प्राप्त गरेका तथ्य र तथ्यांक अनि गुरुङको सम्पत्तिको स्रोतबारे पनि प्रतिवेदनमा लेख्ने ती सदस्यले बताए ।
