विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग माग्यो एक लाख धरौटी

भेपमार्फत सुन तस्करी गरेको अभियोगमा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा उनीसँग धरौटी रकम माग गरिएको हो ।

जेष्ठ १८, २०८३

दुर्गा दुलाल

Special court seeks Rs 100,000 bail from former Speaker Krishna Bahadur Mahara

काठमाडौँ — विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग एक लाख धरौटी माग गर्ने आदेश गरेको छ ।

भेपमार्फत सुन तस्करी गरेको अभियोगमा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा महरासँग अदालतले धरौटी रकम माग गरेको हो ।

विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको हो । महरा आज विशेष अदालत उपस्थित भएका थिए ।

२०८२ चैत २६ मा विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको थियो । 

पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

के हो भेप प्रकरण ?

महरा र सहसचिव पोखरेलसहितलाई प्रतिवादी बनाएर दायर भएको भ्रष्टाचार मुद्दाको प्रकरण १० पुस २०७९ को घटनासँग जोडिएको हो ।

तस्करीमा संलग्न चिनियाँ गिरोहले १० पुस २०७९ मा दुबईबाट विद्युतीय चुरोट (भेप)को आवरणमा भित्र्याएको सुनको सेटिङ बाहिरिएपछि तस्करीको नयाँ धन्दाबारे खुलेको थियो । ७३ वटा बट्टामा ७३० वटा भेपमा लुकाएर तस्करले दुबईबाट त्रिभुवन विमानस्थल हुँदै भन्सार गोदामसम्म सुन ल्याएका थिए । त्यसबेलै अनुसन्धानका क्रममा सुन करिब ९ केजी रहेको खुलेपनि बीचमै चोरी भएपछि यो विषय थप रहस्यमय बनेको थियो ।

दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० बाहक ली हसङले २ वटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं ओर्लिएका थिए । लगत्तै भेपका रुपमा जाँचपास गराएर गिरोहका नाइके दाबाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए सुन लिएर आएका हसङ । दाबाजिन पूर्वसभामुख महरासँग जोडिएका शंकास्पद पात्र थिए । भन्सारमा भने सामान शंकास्पद देखिएपछि त्यही दिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लिएको थियो ।

त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दाबाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलमार्फत् भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाएका थिए । त्यसपछि महराका बाबुछोरा दाबाजिन वाङको योजना अनुसार सुन भएका भेप छुटाउन सक्रिय भएका थिए । त्यस क्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो । 

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully