सांसदमाथि छानबिन गर्न सभामुख अर्यालद्वारा समिति गठन

सभामुखले गठन गरेको समितिको संयोजकमा प्रतिनिधिसभा सचिव प्रकाश अधिकारी छन् । सदस्यमा आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाइने सभामुखले बताएका छन् ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Speaker Aryal forms committee to investigate MPs

What you should know

काठमाडौँ — सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्नका लागि ३ सदस्यीय समिति गठन गरेका छन् । समितिले प्रतिवेदन पेस गरेपछि कारबाही प्रक्रिया अगाडि बढाउने पनि सभामुखले बताएका छन् । 

सभामुख अर्यालले सोमबारको बैठकमा छानबिन समिति गठन भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । 'प्रतिनिधिसभाको मिति २०८३ साल जेठ १७ गतेको बैठकहरूमा सभाका केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी एवं क्षति पुर्‍याउने कार्यसमेत रहेको व्यहोरा प्रतिनिधिसभा निमायवली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको,' सभामुखले भने, 'आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्नेगरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक एवं आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु ।'

आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र छन् भने प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल छन् ।

समितिले प्रतिवेदन पेस गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने पनि सभामुखले स्पष्ट पारेका छन् । 'प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने व्यहोरा जानकारी गराउँछु,' सभामुखको घोषणा छ ।

आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली निर्णयार्थ प्रस्तुत गर्ने क्रममा संसद्मा विवाद भएको थियो ।

कान्तिपुर

Link copied successfully