राष्ट्रिय सभामा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध, बैठक स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभामा राजनीतिक दलहरूले अवरोध गरेपछि बैठक मंगलबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Opposition to Prime Minister's statement in National Assembly, meeting postponed

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक चल्न दिएनन् । राष्ट्रिय सभाको सोमबारको बैठक एकपटक स्थगित गरिएको थियो । स्थगित भएपछि बसेको राष्ट्रिय सभाको बैठकमा पनि राजनीतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि मंगलबारसम्मका लागि स्थगित गरिएको छ । 

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा विरोध भएको थियो । प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्नेदेखि छानबिन समिति गठन गर्नुपर्नेसम्मका माग राष्ट्रिय सभाको सोमबारको बैठकमा उठेका थिए ।

बैठक अवरुद्ध हुनु पहिला एमाले सांसद रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिन् । भारतले नेपालको भूमि मिचिरहेको अवस्थामा प्रधानमन्त्री शाहले भने नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहित विरुद्ध बोलेको झाँक्रीको भनाइ थियो । 'नेपालले सीमा मिचेको छ भन्दा कसको हितमा नेपालको प्रधानमन्त्री हुनुहुन्छ ?  हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपाली स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्नुहुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ,' झाँक्रीले भनिन् ।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि लुकेको मनोदशा के हो भनेर पनि प्रश्न गरेकी थिइन् । 'प्रधानमन्त्रीको के मनोदशा हो ? असावधानीवश भन्ने होइन लाग्छ,' उनले भनिन् ।  

कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा छानबिन गर्न राष्ट्रिय सभाले छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए । 'प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, नेपाल सरकारले छिमेकी मुलुक भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ ? म जानकारी गराइदिन आग्रह गर्न चाहन्छु,' कर्णले भने, 'उहाँले सो उपलब्ध गराउन सक्नुभएन भने जनताको माझमा सार्वजनिक रूपमा माफी माग्नुपर्दछ । आज संसद्मा विशेष निर्णय गर्नुपर्ने हुन्छ कि प्रधानमन्त्रीले बोलेको कुराको कारण के हो ? यसको छानबिन समितिसमेत गठन गर्न राष्ट्रिय सभाबाट माग गर्दछु ।'

नेकपाका सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले केका आधारमा उक्त अभिव्यक्ति दिएका हुन् भन्ने स्पष्ट पार्नुपर्ने माग गरेकी थिइन् । भारतलाई खुसी पार्नका लागि यो अभिव्यक्ति दिएको हो कि भन्ने उनले प्रश्न गरिन् ।

राजनीतिक दलका सांसदहरू उभिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध गरिएपछि अध्यक्ष नारायणप्रसाद दाहालले मंगलबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका थिए । 

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'

कान्तिपुर

Link copied successfully