जीप अनियन्त्रित भइ सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कालीकोट — सुर्खेतबाट कालीकोटको शुभकालिका–६ हाउडी आउँदै गरेको बोलेरो जीप दैलेखमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन् ।
सोमबार बिहान सुर्खेतबाट ८ जना यात्रु बोकेर आएको सु.प. ०१००१ च ४९६४ नम्बरको जीप दिउँसो १ बजे दैलेख जिल्ला भैरवी गाउँपालिका–७ कालगौडास्थित भित्री सडकखण्डमा दुर्घटना हुँदा जिप चालक शुभकालिका–५ का ३२ वर्षीय कलबहादुर रोकाया, शुभकालिका–४ सुनारवाडाका ३८ वर्षीय नेत्रसुनार र शुभकालिका–६ हाउडीकी ६५ वर्षीया पुल्तीसरा कामीको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी जवान विनोद शाहीले बताए ।
उनका अनुसार घाइतेहरूमा शुभकालिका–६ का २७ वर्षीय सुमत कामी, १८ वर्षीय भरत विक, वडा नम्बर ४ का २८ वर्षीय कमल सुनार, ३५ वर्षीय चक्र सुनार र ३५ वर्षीय नन्दु सुनार छन् । घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ ।
जीप अनियन्त्रित भइ सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
