सभामुख अर्यालले बोलेका शब्द संसद्को रेकर्डबाट हटाइयोस् : एमाले 

एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका सम्बन्धमा बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

UML: Speaker Aryal's words should be removed from the parliament's record

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख डीपी अर्यालले बोलेका केही शब्द संसद्को रेकर्डबाट हटाउन एमालेले माग गरेको छ ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका सम्बन्धमा बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् । 

सभामुख अर्यालले नियमावलीमा व्यवस्था भएको कुरालाई पनि नभएको भनी अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो । महरले माग गरे, 'सभामुखले ३ दिन अगाडि प्रश्न लिने कुरा नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावलीविपरीत छ । म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखको त्यो शब्द प्रतिनिधिसभाको रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु ।'

सभामुखले प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका सम्बन्धमा बोलेका कुरा संसदको रेकर्डबाट हटाउन महरले माग गरेका थिए । 'प्रधानमन्त्री अकस्मात् आउनुभयो । जसरी भए पनि आउनुभयो । कोही पनि मान्छे संविधान र प्रतिनिधिसभा नियमावली माथि छैन, न सभामुख हुनुहुन्छ, न सांसद, न प्रधानमन्त्री, न मन्त्री हुनुहुन्छ । सबैजना प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर हामी आफ्ना कामकारबाही र जिम्मेवारी पूरा गर्नुपर्छ । प्रतिनिधिसभा नियमावलीले स्पष्ट रूपमा व्यवस्था गरेको छ, परिच्छेद ९ को प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने व्यवस्था गरिएको छ,' महरले भने, 'नियम ५६ देखि ५९ सम्म प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गर्ने, कहिले, कति भन्ने विषयमा स्पष्टसँग व्याख्या गरिएको छ । ३ दिन अगावै प्रधानमन्त्री आउने कुरा स्पष्ट गरिएको छ । १५ जना सांसदले व्यक्तिगत रुपमा प्रश्न गर्न पाउँछ, दलगत होइन । हामीले भनेको त्यो हो । ६ जना सांसदको मात्रै प्रश्न लिइयो । १५ जनाको प्रश्न लिने नियमावलीमा व्यवस्था छ । सांसदका प्रश्न ज्यूँका त्यूँ छन् । प्रधानमन्त्री रोष्ट्रममा भएका बेला उठेर समय मागेको थिए तर दिइएन ।'

सभामुख अर्यालले उक्त विषयमा भने कुनै पनि ध्यानाकर्षण गरेनन् ।  

कान्तिपुर

Link copied successfully