प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, माफी माग्न एमालेको माग

ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको एमालेले जनाएको छ ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

UML demands apology from Prime Minister, says statement objectionable

What you should know

काठमाडौँ — नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबारको संसद् बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका हुन् । आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट 'नेपालले पनि अरूको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, 'प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोस्टमबाटै नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति हो ।' 

उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ । उनले लेखेका छन्, 'ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको सीमा सधैं मिचिएको र मिच्ने काम छिमेकी पक्षबाट भएको स्पष्ट पार्छन् ।'

उनले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बताएका छन् ।

एमालेले उक्त भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, इतिहास तथा सीमासम्बन्धी अध्ययन–अनुसन्धानमा संलग्न विज्ञहरू र आम नेपाली जनताको भावनामाथि चोट पुगेको जनाएको छ । राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अपरिपक्व र भ्रमपूर्ण रहेको एमालेको ठहर छ ।

एमालेले प्रधानमन्त्रीको उक्त भनाइ सच्याउँदै सरकारलाई संसद् तथा आम जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ । साथै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully