प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशसँगै विभागीय टोली एपीएफ र आर्मी गरी ६ टोलीका ९६ खेलाडी सहभागी छन् ।
काठमाडौँ — बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भएको सिनियर पुरुष इपीमा सोयबले एपीएफका जंग गिरीलाई पराजित गर्दै स्वर्ण जितेका थिए । गण्डकी प्रदेशका प्रशान्त गुरुङ र एपीएफका सुकीराम तामाङले कांस्य पदक जिते । महिला फोयलको फाइनलमा अनिताले विभागीय टोली त्रिभुवन आर्मी क्लबकी मनीषा श्रेष्ठलाई पराजित गरिन् । बागमतीकी सोफिया चन्द र एपीएफकी उर्मिला माझीले तेस्रो स्थान हात पारे ।
नेपाल फेन्सिङ संघको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगिताको शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले उद्घाटन गरेका थिए । नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठकाे सभापतित्वमा भएकाे उद्घाटन समारोहमा नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले अघिल्लो सरकारको बक्रदृष्टिका कारण फेन्सिङ खेलले सोचेअनुरुप प्रगति गर्न नसकेकोआराेप लगाए । उनले सरकारले हरेक खेललाई एउटै नजरले हेर्नुपर्नेमा कसैलाई काखा र कसैलाई पाखा गरेकाे बताए ।
प्रतियोगितामा चार स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा व्यक्तिगततर्फ सिनियर पुरुष इपी, सिनियर महिला फोयल, सिनियर पुरुष टिम र सिनियर महिला टिम इभेन्टमा समावेश गरिएको छ । प्रतियोगितामा कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशसँगै विभागीय टोली एपीएफ र आर्मी गरी ६ टोलीका ९६ खेलाडी सहभागी छन् ।
