अधिकारीसहित १० जनाविरुद्ध सहमतिको सम्बन्धलाई देखाएर बलात्कार मुद्दा दायर गर्ने भन्दै धम्क्याएर ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा २०८२ चैतमा मुद्दा दायर भएको थियो ।
काठमाडौँ — टिकटकर तुल्सी (तुल्सा) अधिकारी पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा थाइल्याण्डमा पक्राउ गरेर प्रहरीले उनलाई नेपाल ल्याएको हो ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले अधिकारीलाई पक्राउ गरिएको पुष्टि गरे । ‘ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणसमेतको कसूरमा अदालतमा पहिल्यै मुद्दा दर्ता भएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘रेड नोटिस जारी भएको अवस्थामा थाइल्याण्डमा पक्राउ परेपछि काठमाडौंमा ल्याइएको हो ।’
अधिकारीसहित १० जनाविरुद्ध सहमतिको सम्बन्धलाई देखाएर बलात्कार मुद्दा दायर गर्ने भन्दै धम्क्याएर ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा २०८२ चैतमा मुद्दा दायर भएको थियो । प्रहरीले अनुसन्धान गरिरहेका बेलासमेत उनले टिकटकमार्फत आफ्नो धारणाहरु सार्वजनिक गरिरहेकी थिइन् । अनुसन्धानमा सहयोग गर्ने बताए पनि थाइल्याण्डमा रहेका बेला उनले सामाजिक सञ्जालमार्फत भ्रम छरेको अनुसन्धान अधिकृतहरुले बताएका थिए ।
उनले नेपालमा रहेका बेला प्रहरीले आफूलाई नबोलाएको तर, विदेश गएपछि पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको भूमिकामाथि समेत प्रश्न गरेकी थिइन् । अधिकारीविरुद्ध कुमार चिमोरिया नामक व्यक्तिले २२ साउन २०८२ मा प्रहरी वृत्त, सातदोबाटोमा जाहेरी दिएका थिए ।
प्रारम्भमा ठगीको विषयमा मात्र अनुसन्धान सुरु भएको भए पनि बैंक विवरण जाँच गर्दा अस्वभाविक कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
