कारागारबाट फरार भएपछि मात्र काठमाडौंभित्र ९ वटा लुटपाटका घटनामा उनको संलग्नता खुलेको थापाको भनाइ छ ।
काठमाडौँ — प्रहरीले शनिबार साँझ गोली हानेर पक्राउ गरेका गणेश कार्की आँखामा खुर्सानीको धुलो हालेर लुटपाट गर्ने गिरोहको मुख्य व्यक्ति भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, जेनजी आन्दोलनपछि २४ भदौमा कारागारबाट फरार उनी फेरि काठमाडौं–१६, सुकेधारामा उस्तै शैलीबाट सिक्री र मोबाइल लुटपाट गरी फरार थिए । त्यसक्रममा जडिबुटीस्थित मनोहरा खेला करिडोरमा पारिएको उनको भनाइ छ ।
‘नियन्त्रणमा लिने क्रममा प्रहरी कर्मचारीलाई नै खुर्सानीको धुलो आँखामा छ्यापेर खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो,’ एसएसपी थापाले भने, ‘उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’
प्रहरीका अनुसार, उनी पूर्वप्रहरी समेत हुन् ।
बूढानीलकण्ठ नगरपालिका–३, चपलीका घर भएका उनी तीन वर्ष प्रहरी सेवामा रहेर राजीनामा समेत नदिइ भागेका थिए । त्यसपछि उनी श्रृंखलाबद्ध अपराधमा जोडिएको देखिएको प्रहरीको भनाइ छ ।
उनीविरुद्ध सुरुवात्मा अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको थियो भने पछि हातहतियार तथा खरखजाना र कर्तव्य ज्यानको कसुरमा समेत मुद्दा चलेको एसएसपी थापाले बताए ।
‘त्यो मुद्दा सजाय भुक्तान गरिसकेपछि फेरि डाँका चोरीको कसुरमा केन्द्रीय कारागारमा थिए, तर जेनजी आन्दोलनका बेला फरार भए,’ उनले थपे, ‘जेलबाट भागेपछि पनि उनी पुरानै अपराध कर्ममा सक्रिय थिए ।’
कारागारबाट फरार भएपछि मात्र काठमाडौंभित्र ९ वटा लुटपाटका घटनामा उनको संलग्नता खुलेको थापाको भनाइ छ । थप अनुसन्धान गरिरहेको छ ।
