बढ्दो ‘फबिङ’ संस्कृति, सञ्जालमा जोडिए पनि एक्लिँदै छ मानिस

सार्वजनिक सवारी, क्याफेदेखि घरका बैठक कोठासम्म संवादको ठाउँ मोबाइलको स्क्रिनले ओगट्दा सामाजिक र पारिवारिक सामीप्यता कमजोर बन्दै।

जेष्ठ १७, २०८३

अनिश घिमिरे

Growing 'phubbing' culture, people are becoming lonely even though they are connected to the network

What you should know

काठमाडौँ —  

हालैको एक दिन, रवि भवनबाट हरहर महादेवतर्फ जाँदै गरेको सार्वजनिक बसमा सदाझैं यात्रु खचाखच थिए, बाहिर सामान्य सवारी चाप देखिन्थ्यो । बसभित्र सबै मौन थिए । त्यो मौनताबीच पनि वातावरण शान्त वा ध्वनिरहित भने थिएन ।

सिट पाएका एक यात्रु मोबाइलमा टिकटक स्क्रोल गरिरहेका थिए । पूरै एक घण्टाको यात्राभर उनले धकै नमानी ठूल्ठूलो ‘भोल्युम’मा अनेक भिडियो हेरे । कुनै भिडियो मन परे, दोहोर्‍याई–तेहर्‍याई पनि हेर्थे, मन नपरे स्वाट्टै अर्को स्क्रोल गर्थे ।

कसैले उनलाई आवाज घटाउन भनेनन्, कुनै प्रतिक्रिया जनाएनन्, सायद कसैलाई हेक्का नै भएन । सबै आफ्नै मोबाइलमा उसैगरी अल्झिरहेका थिए । बस आफ्नै रफ्तारमा गुडिरह्यो, यात्रुहरूको ध्यान आआफ्नो मोबाइल स्क्रिनमा थियो । सार्वजनिक स्थलहरूमा यस्ता दृश्य सामान्य लाग्न थालेका छन् । छेउको गतिविधि पत्तै नहुने गरी जो पनि मोबाइलमा एकोहोरिएको देखिन्छ ।

घुमफिर, सामान्य गफगाफ र योजनाविहीन भेटघाट मानिसको भावनात्मक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छन् । आफ्ना मान्छेहरूसँग हामी खुलेर बोल्न, व्यवहार गर्न र आफूलाई अभिव्यक्त गर्न पाउँछौं, यसले मन हल्का बनाउन मद्दत गर्छ ।यस्तो प्रवृत्ति बुझाउन अंग्रेजी शब्दकोशमा हालै एउटा नयाँ शब्द थपिएको छ– ‘फबिङ’ । ‘फोन’ र ‘स्नबिङ’ शब्द मिलाएर बनाइएको यो शब्दको अर्थ हो– आफूछेउका मानिसको वास्तै नगरेर सम्पूर्ण ध्यान स्मार्टफोनमा केन्द्रित गर्नु ।

झट्ट हेर्दा, फबिङ सामान्य डिस्ट्र्याक्सन वा मानिस फोनमा अलमलिएजस्तो मात्र लाग्छ । यो त्यति ठूलो समस्या होइन भन्ने लाग्न सक्छ । तर, साना–साना यस्ता घटनालाई समग्रमा जोडेर हेर्दा यसले समाजको बृहत् र मिहिन परिवर्तनलाई प्रतिबिम्बित गरिरहेको पाइन्छ । यो परिवर्तन हो– मानिसहरूले सार्वजनिक स्थलमा एकले अर्कालाई दिने ध्यान (अटेन्सन) अब स्वतः स्फूर्त वा सामान्य कुरा रहेन । मानिसहरूको ध्यान मोबाइल स्क्रिन र अर्को मानिसमा आधा–आधा रूपमा बाँडिएर प्रकट हुन्छ । धेरैजसो अवस्थामा त्यो ध्यान पूर्ण रूपमा मोबाइलको स्क्रिनभित्रै हराइसकेको हुन्छ ।

तीनकुनेमा ‘आर्या खाजा घर’ सञ्चालन गर्ने अर्जुन कँडेलले विगत पाँच वर्षमा ग्राहकको व्यवहारमा ठूलो परिवर्तन देखेका छन् । ‘पहिले मानिसहरू यहाँ खाजा खान मात्र होइन, गफगाफ गर्न र नयाँ सम्बन्ध बनाउन आउँथे,’ उनी भन्छन्, ‘तर अहिले त्यस्तो कमै हुन्छ । मानिसहरू सँगै बसे पनि एकअर्कासँग हुँदैनन् । पहिले–पहिले मानिसहरूको गुनगुन, हाँसो र ठट्टा सुनिन्थ्यो भने अहिले रिल्स र टिकटकको आवाज सुनिन्छ ।’ उनका अनुसार सामाजिक सञ्जालले सञ्चार सजिलो बनाए पनि मानवीय सम्बन्धलाई असर पुर्‍याएको छ ।’

यो परिवर्तन शिष्टाचार वा अलमलको विषय मात्र होइन । यसले मानिसहरू कसरी सँगै बस्छन्, कति गहिरोसँग एक–अर्कालाई सुन्छन् र कति सजिलै टाढिन्छन् भन्ने दैनिक अन्तर्क्रियाको स्वरूपलाई नै फेरिरहेको छ । यसले मानवीय सम्बन्धमा मात्र असर गरेको छैन, कतिपय अवस्थामा असुरक्षासमेत निम्याइरहेको छ ।

इन्स्टाग्राममा ‘लाइफ एज क्रि’ नामक प्रयोगकर्ताले जेठ १० मा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा उनले आफू सवार याङ्गो चालकले मोबाइलमा एकपछि अर्को रिल्स स्क्रोल गर्दै मोटरसाइकल गुडाइरहेको देख्छन् । ती चालकको ध्यान सडक र स्क्रिनबीच बाँडिएको थियो । ‘लगभग २५ मिनेटसम्म रिल्स, टिकटक र युट्युब सर्ट्स हेर्दै सवारी चलाए । कैयौं पटक झन्डै दुर्घटनामा परियो । पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरे । यात्राको अन्त्यतिर त लापरबाही झनै बढ्यो,’ उनले क्याप्सनमा लेखेकी छन् ।

दोलखाकी २४ वर्षीया विद्यार्थी मीरा तामाङलाई अनलाइनमा हुने कुराकानी भावरहित र बनावटी लाग्छ । दोलखामा छँदा साथीहरूसँग साँझमा गाउँ डुल्दै भविष्य र सपनाका कुरा गरेको क्षण उनलाई प्यारा लाग्छन् । अहिले भने साथीहरूसँगको भेटसमेत औपचारिक र योजनाबद्ध लाग्ने उनको अनुभव छ । ‘हामीले धेरै फिल्टर थपिरहेका छौं, असली र इमानदार सम्बन्ध हराउँदै गएको छ,’ तामाङ भन्छिन् ।

एक दशकअघि नेपालमा लोडसेडिङ उत्कर्षमा छँदा सामाजिक जीवन फरक ढंगले चल्थ्यो । मानिसहरू छतमा बसेर छिमेकीसँग कुरा गर्थे, नजिकैको चोकमा राजनीति छलफल हुन्थ्यो अनि परिवारका सदस्यहरू मैनबत्ती वा बत्तीको वरिपरि बसेर गफ गर्थे । ‘त्यतिबेला बत्ती हुँदा बुबा समाचार सुनिरहनुहुन्थ्यो,’ तामाङ भन्छिन्, ‘बत्ती गएपछि मलाई मेरो दिन कस्तो भयो वा गृहकार्य के छ भनेर सोध्नुहुन्थ्यो । अहिलेजस्तो मोबाइल स्क्रिन नहुँदा गफहरू स्वाभाविक र स्वस्फूर्त रूपमा पैदा हुन्थे ।’

पहिला–पहिला बेलुका काम सकेपछि कथा र अनुभव साटासाट हुन्थ्यो । गाउँका चौतारी र चोकमा समाचार, विचार र दैनिक जीवनबारे कुरा हुन्थ्यो । अहिले धेरै कुरा स्क्रिनभित्र सरेका छन् : लेखक तथा समाजशास्त्री रामेश्वरी पन्तलेखक तथा समाजशास्त्री रामेश्वरी पन्तका अनुसार यस्तो परिवर्तन अहिले घरभित्र गहिरोसँग देखिन थालेको छ । स्मार्टफोनले मानिसलाई आफैं मात्र केन्द्रित गराएको छ । ‘परिवारका सदस्य एउटै कोठामा बसे पनि एकअर्कासँग कुरा गर्ने समय हुँदैन,’ उनी भन्छिन्, ‘पहिला–पहिला बेलुका काम सकेपछि कथा र अनुभव साटासाट हुन्थ्यो । गाउँका चौतारी र चोकमा समाचार, विचार र दैनिक जीवनबारे कुरा हुन्थ्यो । अहिले धेरै कुरा स्क्रिनभित्र सरेका छन् ।’

विशेषगरी साना बालबालिकालाई फकाउन वा शान्त राख्न अभिभावकले नै मोबाइल दिने बानीले उनीहरूमा संवाद गर्ने उत्साह हराउँदै गएको पन्तको बुझाइ छ । बालबालिकामा अभिभावकसँग कुरा गर्ने उत्साह घट्दै गएको र अभिभावकसँग पनि कथा, लोककथा वा रमाइला अनुभव सुनाउने समय नभएको उनी बताउँछिन् । पन्तका अनुसार यसले बालबालिकालाई अग्रजको ज्ञान र जीवन अनुभवबाट टाढा पारिरहेको छ ।

यी धेरै कारणले मानिसहरू एक्लिँदै गएका छन् । भीडभित्र रहेर पनि मानिसले आफूलाई एक्लो महसुस गर्न थालेको र यसको मानसिक असर गम्भीर हुन सक्ने मनोसामाजिक परामर्शदाता दृष्टि मोक्तान औंल्याउँछिन् । उनका अनुसार घुमफिर, सामान्य गफगाफ र योजनाविहीन भेटघाट मानिसको भावनात्मक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छन् । ‘आफ्ना मान्छेहरूसँग हामी खुलेर बोल्न, व्यवहार गर्न र आफूलाई अभिव्यक्त गर्न पाउँछौं,’ उनी भन्छिन्, ‘यसले मन हल्का बनाउन मद्दत गर्छ ।’

सार्वजनिक स्थलमा हुने हाँसो, अन्य मानिसमाझ बिताएको समयले मानिसको भावनालाई सन्तुलित गर्ने उनी बताउँछिन् । तर, यस्ता अन्तर्क्रियाहरू स्मार्टफोनले विस्थापित गर्दै जाँदा दैनिक भावनात्मक आधार कमजोर हुन थाल्ने र समयसँगै साना असहमति वा भावनात्मक संवादसमेत कठिन लाग्न सक्ने मोक्तानको भनाइ छ । ‘समयसँगै मोबाइल डिभाइसहरू मनोरन्जन मात्र होइन, भावना पोख्ने माध्यम बन्दै जानेछ,’ उनी भन्छिन्, ‘निरन्तर डिजिटल पहुँचले समाजलाई अत्यधिक उत्तेजनायुक्त युगतर्फ धकेलिरहेको छ ।’

मूल रूपमा भन्दा, ‘फबिङ’ ले हामीलाई अल्मल्याउने मात्र नभई यसले हामी सँगै हुँदा महसुस हुने सामीप्यता, आत्मीयता र शान्त पलहरूलाई भित्रभित्रै परिवर्तन गरिरहेको छ ।

अनिश घिमिरे काठमाडौं पाेष्टमा कला र जीवनशैली विषयमा कलम चलाउँछन् ।

Link copied successfully