सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौँ — देशमा सक्रिय वर्षा गराउने मौसम प्रणाली पश्चिमतर्फ सर्दै गएको छ । यसका कारण हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका विभिन्न क्षेत्रमा आगामी केही घण्टासम्म थप वर्षा हुन सक्ने सम्भावना छ ।
महाशाखाले पछिल्लो तीन घण्टामा मकवानपुरको रजाई क्षेत्रमा सबैभन्दा धेरै ३२ मिलिमिटर वर्षा मापन भएको जनाएको छ । प्रिमनसुन गतिविधि सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ ।
विभागले भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा मधेशलगायत कोशी, बागमती र गण्डकीका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
