८ हजार मिटरमाथिका हिमालमा निर्मल पुर्जाको ५४औं आरोहण

मौसम अनुकूल नहुँदा एक दिन अतिरिक्त प्रतीक्षा गरेर आरोहण गर्नुपरेको पुर्जाले बताए ।

जेष्ठ १६, २०८३

सुरज कुँवर

Nirmal Purja's 54th ascent of a mountain above 8,000 meters

What you should know

काठमाडौँ — नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) ले विश्व सगरमाथा दिवसको अवसरमा शुक्रबार अक्सिजनबिना सगरमाथा आरोहण गरेका छन् ।

यससँगै पुर्जाले ८ हजार मिटरभन्दा माथिका हिमालहरूमा ५४ औं आरोहण पूरा गरेका छन् । ५४ मध्ये २५ वटा आरोहण कृत्रिम अक्सिजनको सहायताबिना गरेको उनले बताए । 

यसै साता उनी थप दुई हिमाल आरोहण गर्दै छन् । 'भोलि मकालु हिमाल आरोहणका लागि जाँदै छु,' पुर्जाले शनिबार बिहान कान्तिपुरसँग भने, 'त्यसपछि कञ्जनजंघा आरोहणको योजना छ । नेपालमा सकिएपछि जुन १० तिर पाकिस्तान केटू हिमाल जानेछु ।'

उनले आफ्नो काम नै हिमाल आरोहण भएकाले ८ हजार मिटर अग्ला हिमाल आरोहण जारी नै रहने बताए ।  

यसपटक सगरमाथा आरोहणअघि प्रतिकूल मौसमका कारण उनको टोलीले निर्धारित योजनामा परिवर्तन गर्नुपरेको थियो । मौसम अनुकूल नहुँदा एक दिन अतिरिक्त प्रतीक्षा गरेर सगरमाथा आरोहण गर्नुपरेको पुर्जाले बताए ।

अभियान नेताको जिम्मेवारी सम्हाल्दै उनले सम्पूर्ण टोलीको तयारी, सुरक्षा र समन्वयमा विशेष ध्यान दिनुपरेको थियो । उनको समूहका २८ सदस्यले उनीसँगै सफलतापूर्वक शिखर चुमेका छन् ।

उनले यो आरोहण लामो, चुनौतीपूर्ण र धैर्यको परीक्षा भएको बताएका छन् । सम्पूर्ण आरोही तथा शेर्पा टोलीको समर्पण र साहसको पनि उनले प्रशंसा गरे ।

म्याग्दीको धौलागिरि क्षेत्रमा जन्मिएका पुर्जा चितवनमा हुर्किएका हुन् । पर्वतारोहणभन्दा पहिले उनी ब्रिटिस गोर्खा सेनामा थिए । १८ वर्षको उमेरमा सन् २००३ मा गोर्खा सेनामा प्रवेश गरेका उनले १६ वर्षको सैनिक जीवनमा ६ वर्ष गोर्खा र १० वर्ष बेलायतको विशेष फौज एसबीएस (स्पेसल बोट सर्भिस) मा सेवा गरेका थिए ।

सैनिक जीवनपछि पर्वतारोहणमा प्रवेश गरेका उनले छोटो समयमै विश्व पर्वतारोहण क्षेत्रमा असाधारण उपलब्धि हासिल गरेका छन् । विभिन्न कीर्तिमानी आरोहण तथा उच्च हिमाली उद्धार अभियानमार्फत उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully