३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पालाई ७३ औँ सगरमाथा दिवसमा १ लाख राशिसहित अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार प्रदान गरिएको छ।
What you should know
काठमाडौँ — ३१ पटक सगरमाथा आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वकै दोस्रो व्यक्ति बनेका पासाङ दावा (पादावा) शेर्पालाई ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल सरकारले दिने यो पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा सोलुखम्बुको दिङ्बोचे निवासी पासाङ दावा (पादावा) शेर्पालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार यसअघि यो पुरस्कार कामीरिता शेर्पाले प्राप्त गरिसकेकाले यस वर्ष पादावा शेर्पालाई प्रदान गरिएको हो।
कामीरिता शेर्पाले यस वर्ष पनि सगरमाथा आरोहण गर्दै ३२औँ पटकको विश्व कीर्तिमान कायम गरेका छन् । पादावा शेर्पा भने ३१ पटकको आरोहणसहित विश्वकै दोस्रो धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा परिचित छन्।
कार्यक्रममा उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार कार्यमा योगदान पुर्याएको भन्दै हेली एभरेस्टमा आबद्ध हेलिकप्टर पाइलट प्रिया अधिकारीलाई ५० हजार राशिको ‘तेन्जिङ–हिलारी खोज तथा उद्धार पुरस्कार’ प्रदान गरिएको छ।
त्यसैगरी, सन् २०२६ मा सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफलतापूर्वक आरोहण गर्दै ‘ट्रिपल क्राउन’ उपलब्धि हासिल गरेका तेन्जिङ डेभिड शेर्पालाई ५० हजार राशिको ‘तेन्जिङ–हिलारी कीर्तिमानी आरोही पुरस्कार’ प्रदान गरिएको छ।
अघिल्लो वर्ष एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएकी पूर्णिमा श्रेष्ठलाई ५० हजार राशीको ‘पेमा डोमा महिला आरोही पुरस्कार’ प्रदान गरिएको छ भने नेपाली हिमाली क्षेत्रको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याएको भन्दै भूगोलविद् प्रा. विशालनाथ उप्रेतीलाई ५० हजार राशिको ‘तेन्जिङ–हिलारी अध्ययन तथा अनुसन्धान पुरस्कार’ प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
यसै अवसरमा खुम्बु आइसफल क्षेत्रमा डोरी टाँग्ने ‘आइसफल डाक्टर’ टोलीका सदस्यहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा छिरिङ तेन्जिङ शेर्पा, आङ सर्की शेर्पा, दावा जाङ्बु शेर्पा, तेन्दु शेर्पा, ङिमा तेन्जी शेर्पा, फुरा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा तथा मिङ्मा ग्याल्जेन शेर्पा रहेका छन्।
त्यसैगरी सगरमाथा तथा ल्होत्से हिमालमा बाटो खोल्ने डोरी फिक्सिङ टोलीलाई समेत प्रशंसापत्र प्रदान गरिएको छ । उक्त टोलीमा मिङ्मा दोर्जी शेर्पा, पेम दोर्जी शेर्पा, पासाङ टासी शेर्पा, लोप्साङ भोटे, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेर्पा, पासाङ तेन्जिङ शेर्पा, मिङ तेम्बा शेर्पा, डेन्डी शेर्पा तथा पासाङ ङिमा शेर्पा रहेका छन्।
कार्यक्रममा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा खटिएका सम्पर्क अधिकृतहरूको टोलीलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा खिमलाल गौतम, ज्ञानेन्द्रकुमार श्रेष्ठ, छिरिङ शेर्पा, कृष्ण कुमार मगर तथा सुशील शर्मा रहेका छन्।
