यो संख्या हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको छ ।
काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा १ हजार ८ जना आरोही सफल भएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार यसपटक सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम भएको हो । सगरमाथामा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले शुक्रबार बिहानसम्म १ हजार ८ जनाले सफलतापूर्वक आरोहण गरेको जानकारी दिए ।
‘यस वर्षको वसन्तकालीन हिमाल आरोहण अन्तर्गत सगरमाथामा १ हजार ८ आरोही सफल भएका छन्,’ ७३औँ सगरमाथा दिवसका अवसरमा राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गौतमले कान्तिपुरसँग भने ।
यस वर्ष सगरमाथा आरोहणमा अनुमति संख्या, सलामी दस्तुर संकलन तथा आरोहण दलको सहभागितामा समेत कीर्तिमान बनेको विभागले जनाएको छ । विभागले ४ सय ९६ जनालाई सगरमाथा आरोहण अनुमति जारी गरेको थियो ।
सगरमाथा आरोहणबाट करिब १ अर्ब ८ करोड रुपैयाँ सलामी दस्तुर संकलन भएको विभागको तथ्यांक छ । यसअघि सगरमाथामा करिब ९ सय जनाले सफल आरोहण गरेको रेकर्ड रहेको विभागले जनाएको छ ।
