छिरिङले जेठ ६ गते बिहान १०:०५ बजे सगरमाथाको चुचुरोमा पुग्दै १६ वर्ष १६७ दिनको उमेरमा यो ऐतिहासिक सफलता हासिल गरेका हुन् । छिरिङको जन्म २०६६ मंसिर १९ मा काठमाडौंमा भएको हो ।
What you should know
काठमाडौँ — १६ वर्षीय छिरिङ पासाङ शेर्पाले नेपालतर्फ (दक्षिणी मोहोडा) बाट विश्वको सर्वोच्च शिखर पुग्ने सबैभन्दा कान्छा नेपाली आरोहीको कीर्तिमान कायम गरेका छन् । उनले जेठ ६ गते बिहान १०:०५ बजे सगरमाथाको चुचुरोमा पुग्दै १६ वर्ष १६७ दिनको उमेरमा यो ऐतिहासिक सफलता हासिल गरेका हुन् । छिरिङको जन्म २०६६ मंसिर १९ मा काठमाडौंमा भएको हो ।
नेपाल पर्वतारोहण संघले उनको उपलब्धिप्रति बधाई ज्ञापन गर्दै यसलाई नेपाली पर्वतारोहण इतिहासमा नयाँ पुस्ताको प्रेरणादायी उपलब्धिका रूपमा व्याख्या गरेको छ । संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले नेपालतर्फबाट सबैभन्दा कान्छो आरोहीका रुपमा छिरिङ पासाङ शेर्पाले नयाँ रेकर्ड राखेको दाबी गरे । उनले जारी गरेको बधाई सन्देशमा छिरिङको साहस, समर्पण र दृढ संकल्पको प्रशंसा गरिएको छ।
छिरिङ पासाङले पनि कान्तिपुरसँगको कुराकानीमा नेपालतर्फबाट आरोहण गर्ने आफू सबैभन्दा कान्छो आरोही भएको दाबी गरे । यसअघि नेपाली आरोही तेम्बा छिरी शेर्पाले सन् २००१ मा तिब्बतको उत्तरी मोहोडाबाट १६ वर्षको उमेरमा सगरमाथा आरोहण गर्दै त्यतिबेला विश्वकै कान्छा आरोहीको कीर्तिमान बनाएका थिए । पछि अमेरिकी १३ वर्षीय किशोर जोर्डन रोमेरोले उक्त विश्व कीर्तिमान तोडे पनि तेम्बा छिरी नेपालीमध्ये सबैभन्दा कम उमेरमा सगरमाथा पुग्ने आरोहीका रूपमा चिनिएका थिए ।
छिरिङ हाल रिलायन्स पब्लिक स्कुलका विद्यार्थी हुन् । उनले एसईई २०८२ मा ३.६३ जीपीएसहित ए प्लस प्राप्त गरेका थिए । उनको आरोहण ग्लेसियर हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन्समार्फत सम्पन्न भएको हो भने उनलाई दा काल्जाङ शेर्पाले आरोहणमा गाइड गरेका थिए ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम सफार्मा घर भएका छिरिङ पर्वतारोहण पृष्ठभूमि रहेको परिवारमा जन्मिएका हुन् । छिरिङका पिता लाक्पा तेम्बा शेर्पाले तीन पटक सगरमाथा आरोहण गरिसकेका छन् भने उनकी आमा डोल्मा लामाले एक पटक सफल आरोहण गरेकी छन् ।
