सगरमाथा आरोहणसँगै उनले बहालवाला प्रतिनिधिसभा सदस्यका रूपमा नयाँ इतिहास बनाएको दाबी पर्यटन क्षेत्रले गरेको छ ।
What you should know
काठमाडौँ — प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले प्रतिनिधिसभाको झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनले बुधबार बिहान ५ : ४० बजे सगरमाथाको चुचुरोमा पुगेर ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन् ।
सगरमाथा आरोहणपछि सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘सदनदेखि शिखरसम्मको यात्रा ९औँ दिनमा आज बिहान ०५ : ४० बजे सगरमाथा शिखरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछु । यहाँसम्मको यात्रामा सहयोग, शुभकामना र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।’
उनले यही जेठ ५ गते काठमाडौंबाट सगरमाथा बेस क्याम्प पुगेर अभियान सुरु गरेका थिए । त्यसदिन प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको झण्डा हस्तान्तरण गर्दै उनलाई काठमाडौंबाट विदाइ गरेका थिए ।
सगरमाथा आरोहणसँगै उनले बहालवाला प्रतिनिधिसभा सदस्यका रूपमा नयाँ इतिहास बनाएको दाबी पर्यटन क्षेत्रले गरेको छ ।
सगरमाथामा नेपाल सरकारले स्थापना गरेको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले भने, ‘मेरो जानकारी अनुसार नेपालमा बहालवाला पहिलो माननीय सगरमाथा आरोहण गर्ने व्यक्ति उहाँ नै हुनुहुन्छ ।’
सगरमाथामा रहेको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमसहितको टोलीले उनलाई शिखर सफलताका लागि जेठ ५ मा आधार शिविरमा स्वागत गरेको थियो ।
३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा विश्वस्तरमै परिचित नाम हो । ‘मिङ्मा डेभिड’ नामले समेत चिनिने उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको पनि कीर्तिमान बनाएका थिए ।
उनी २०८२ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
