बजेट प्रस्तुती बहुउदेश्यीय हलबाटै

संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू उपस्थित नहुने ।

जेष्ठ १४, २०८३

रासस

Budget presentation from the multipurpose hall

काठमाडौं — संसद्को बहुउदेश्यीय हलबाटै आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म ‘फिनिसिङ’ पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुती हुन लागेको बताएका छन् ।

उनले स्थानाभावका कारण बजेट प्रस्तुती हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको समेत बताए । 

संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्दैछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई उक्त समय अगावै स्थान ग्रहण गर्न सूचित गरिएको छ ।

रासस

Link copied successfully