बुधबार आयोजित विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको अपरिहार्य आवश्यकता भएको बताएका छन् ।
बुधबार आयोजित ‘राष्ट्रपति नेपालसँग सगरमाथा आरोहीहरूको बिहानको भेटघाट’ कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीहरूलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले यसको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार तथा सन्तुलित उपयोगले नेपालको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन अहिलेका मुख्य चुनौती बनेको उल्लेख गरे । उनले सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो तथा प्रविधिमैत्री बनाउन थप सहकार्य र प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
पौडेलले हिमाल तथा हिमाली पर्यावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद र जनचेतना अभिवृद्धिमा यस्ता सम्मेलनको विशेष महत्व रहेको बताए । साथै, सगरमाथा आरोहीहरूको अनुभव र ज्ञानले विश्वकै गौरवका रूपमा रहेको सगरमाथालाई प्राकृतिक स्वरूपमै जीवन्त राख्न योगदान पुग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे ।
एभरेष्ट समिटर्स समिटमा २० देशका २ सय हाराहारी सगरमाथा आरोही छन् ।
