साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्टका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

भेटका क्रममा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको सफल आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Meeting between the Secretary-General of South Asia Wildlife Enforcement and the Minister of Foreign Affairs

काठमाडौं — साउथ एसिया वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सवेन) का महासचिव डा. कृष्णप्रसाद आचार्यले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् ।

भेटमा महासचिव डा. आचार्यले सवेनको आगामी महासभाका बारेमा जानकारी गराउँदै उक्त कार्यक्रमको आयोजनाका लागि नेपाल सरकारको सहजीकरण र समर्थनका लागि अनुरोध गरेका छन् ।

सवेन दक्षिण एसियाली देशहरूको एक अन्तरसरकारी संगठन हो, जसको सचिवालय काठमाडौंमा छ । संगठनमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ सदस्य राष्ट्रहरू छन् । यो संगठन क्षेत्रीय स्तरमा अवैध वन्यजन्तु व्यापार नियन्त्रण तथा वन्यजन्तु कानुन कार्यान्वयनमा सदस्य राष्ट्रहरूबीच समन्वय र सहकार्य प्रवर्द्धन गर्न स्थापना भएको हो ।

भेटका क्रममा महासचिव डा. आचार्यले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा अवैध वन्यजन्तु व्यापार नियन्त्रणमा सवेनले निर्वाह गर्दै आएको भूमिकाबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराए ।

मन्त्री खनालले आगामी महासभालाई सफल तथा सचिवालयलाई समग्र रूपमा सुदृढ बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे । उक्त भेटमा सचिवालयका प्रतिनिधि उपेन्द्र पोख्रेलको पनि सहभागीता थियो ।

साथै,  बुधबार सवेनको पहिलो साधारण सभा आयोजक समितिको बैठक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं आयोजक समितिका संयोजक डा. बुद्धिसागर पौडेलको अध्यक्षतामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहल, काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त बैठकमा परराष्ट्र मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग र सचिवालयका प्रतिनिधिहरूको उपस्थितिमा महासभाको सफल आयोजनाका लागि आवश्यक छलफल गरिएको छ ।

कान्तिपुर

Link copied successfully