जेन-जी आन्दोलन प्रतिवेदन : कलाकार र इन्फ्लुएन्सरमाथि अनुसन्धान गर्न सुझाव

इन्फ्लुएन्सरहरू भिक्टर पौडेल, सिसन बानियाँ, टंक दाहाल, भाग्य न्यौपाने, भीम उपाध्याय, विवेक थपलिया र निशान मैनालीलाई पनि थप अनुसन्धान गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।

जेष्ठ १४, २०८३

दया दुदराज

Gen-G Movement Report: Suggestions for research on artists and influencers

What you should know

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र प्रदर्शनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले उक्त आन्दोलनका क्रममा भएका घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो ।

उच्च राजनीतिक नेतृत्वका अलावा आयोगले आन्दोलनमा भूमिका रहेको भन्दै विभिन्न अभियन्ता, अधिकारकर्मी, कलाकार र इन्फ्लुएन्सरहरूलाई समेत शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्न सुझाएको छ । प्रतिवेदनमा कलाकारहरू निश्चल बस्नेत र अमनप्रताप अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

त्यस्तै, सामाजिक सञ्जालको चर्चित पेज 'रुटिन अफ नेपाल बन्द'का सञ्चालक भिक्टर पौडेल, सिसन बानियाँ, टंक दाहाल, भाग्य न्यौपाने, भीम उपाध्याय, विवेक थपलिया र निशान मैनालीलाई पनि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै 'पठाओ' राइड सेयरिङ एपका पूर्व सीईओ असिममान बस्नेतलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

प्रतिवेदनमा आफ्नो नाम समेटिएपछि कलाकार निश्चल बस्नेतले आफू अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । 'मैले यसअघि आयोगमै उपस्थित भएर बयान दिइसकेको छु,' बस्नेतले कान्तिपुरसँग भने, 'उहाँहरूले थप अनुसन्धानका लागि भन्नुभएको रहेछ, म अनुसन्धानमा सघाउन तयार छु ।'

बस्नेतले सामाजिक सञ्जालमार्फत अनुसन्धानको सुरुवात आफैंबाट गर्नसमेत आग्रह गरेका छन् । उनले लेखेका छन्, 'मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुवातचाहिँ मैबाट गरिदिनुहोला, दूधको दूध र पानीको पानी छुट्याउनुपर्‍यो ।'

प्रतिवेदनमा नाम समेटिएका अर्का एक इन्फ्लुएन्सरले भने यसबारे असन्तुष्टि र दुःख व्यक्त गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, 'बालेनको नाम कतै पनि छैन, तर मेरो नाम अनुसन्धानका लागि समेटिएछ, दुःख लाग्यो ।'

यता प्रतिवेदनमा नाम जोडिएका अर्का कलाकार अमनप्रताप अधिकारीले भने आफूलाई यसबारे कुनै जानकारी नभएको दाबी गरे । 'मलाई यस विषयमा केही थाहा छैन, त्यसैले अहिल्यै कुनै टिप्पणी गर्न चाहन्नँ,' अधिकारीले भने ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully