चिनियाँ आरोही गेक्सी लुओरीले एकै आरोहण सिजनमा सगरमाथा र ल्होत्से हिमाल दुई-दुई पटक सफल आरोहण गर्दै हिमाली आरोहण इतिहासमा नयाँ अध्याय थपेका छन्।
काठमाडौँ — चिनियाँ आरोही गेक्सी लुओरीले एकै आरोहण सिजनमा सगरमाथा र ल्होत्से हिमाल दुई-दुई पटक सफल आरोहण गर्दै हिमाली आरोहण इतिहासमा नयाँ अध्याय थपेका छन्।
यो उपलब्धि हिमाल आरोहण क्षेत्रमा पहिलो पटक हासिल भएको आरोहण व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सले दाबी गरेको छ ।
सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार गेक्सीले यस सिजनमा ३ जेठ बिहान ७:१५ बजे सगरमाथा आरोहण गरेका थिए । ४ जेठ बिहान ७:५० बजे ल्होत्से आरोहण गरेका थिए । ११ जेठ बिहान ७:५० बजे ल्होत्से र आज बिहान ३:३० बजे सगरमाथा आरोहण गरेका थिए।
उनका दुई सगरमाथा आरोहणबीचको समय केवल ९ दिन, २० घण्टा र १५ मिनेट रहेको छ । यो रेकर्डले उच्च हिमाली आरोहणमा नयाँ कीर्तिमान स्थापित गरेको छ।
‘गेक्सी लुओरीलाई यस ऐतिहासिक डबल समिट सिजनको सफलताका लागि हार्दिक बधाई। एकै सिजनमा सगरमाथा र ल्होत्से दुई-दुई पटक आरोहण गर्नु असाधारण सहनशीलता, दृढ संकल्प र उच्चस्तरीय पर्वतारोहण क्षमताको उदाहरण हो। यस्तो गौरवपूर्ण अभियानमा सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं र उहाँको सुरक्षित रूपमा बेसक्याम्प फिर्तीको शुभकामना व्यक्त गर्दछौं,’ गुरागाईंले भने।
२०२६ को वसन्तकालीन आरोहण सिजनको अन्त्यतिर हासिल गरिएको यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको विशेष ध्यान आकर्षित गरेको छ।
गेक्सी लुओरीले आफ्नो यो ऐतिहासिक अभियान नेपालको अग्रणी आरोहण कम्पनी सेभेन समिट ट्रेक्ससँग सम्पन्न गरेका हुन्।
