न्यायाधीशहरू स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले लाली बजार फिल्मको सफ्टकपी सक्कलै इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश गरेको हो ।
काठमाडौं — उच्च अदालत पाटनले लाली बजार फिल्म विवादमा रोशनी नेपालीले दायर गरेको रिटमा प्रमाण मिसिल झिकाउने आदेश गरेको छ ।
मंगलबार न्यायाधीशहरू स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको इजलासले लाली बजार फिल्मको सफ्टकपी सक्कलै इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश गरेको हो ।
आदालतले फिल्म निर्माण कम्पनीसँग यसको विवरण पेस गर्न भनेको हो । यसअघि जेठ १ गते सर्वोच्च अदालतले उक्त फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि नेपालीले फेरि उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् ।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरूले बुधबार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा फिल्म हेरी र दुई पक्षबीच छलफल गरी निर्णय लिने भएका छन् ।
फिल्म वैशाख २५ गतेदेखि प्रदर्शन भइरहेको छ । उच्च अदालतले फिल्म हेरेपछि रोक्नुपर्ने वा संशोधन गर्नुपर्ने देखेमा सोही अनुसारको आदेश दिनेछ । फिल्म प्रदर्शन हुनुअघि नेपालीले रोक्न माग गरेर रिट दायर गरेकी थिइन् । तर, उक्त रिटमा अन्तरिम आदेश जारी भएन । त्यसपछि उनी सर्वोच्च पुगेकी थिइन् ।
