पर्सा जिल्ला अदालतले विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरमा अनुसन्धान भइरहेका दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
पर्सा — विवादास्पद अभिव्यक्ति प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार, अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रसाईलाई अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै अदालतले उनलाई फिर्ता पठाएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । त्यस क्रममा दुई पटक म्याद थप गरिसकेको थियो ।
प्रहरीका अनुसार उनले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने तथा सरकारप्रति अवहेलना सिर्जना हुने खालका अभिव्यक्ति दिएको आरोप छ । प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।
